विराटनगर । एविसी नेपालले आयोजना गरेको तीन महिने सिलाई बुनाई तालिम सम्पन्न भएको छ ।
गत भदौ २४ गतेदेखि सुरु भएको तालिम सोमबार सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यमा भएको समापन समारोहमा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र र बीउ पुँजीसमेत वितरण गरिएको थियो । एवीसी नेपालकी अध्यक्ष विष्ण शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा मेयर कोइरालाले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गरे । आफूले सिकेको सीप जीवनभरि रहने उनको भनाइ थियो । आफूसँग भएको सीप कसैले चोरेर र खोसेर लान नसक्ने मेयर कोइरालाले बताए । कार्यक्रममा युएनएफपीए कोशी प्रदेश प्रमुख श्याम थापा, वैधनाथ कर्ण, भिएसओका संयोजक सुनिल साहलगायतले शुभकामना मन्तव्य व्यक्त गरे । लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्यअन्तर्गत सिलाईबुनाई तालिम आयोजना गरिएको आयोजक संस्थाकी अध्यक्ष विष्णु शर्माले जानकारी दिए । उनका अनुसार प्रशिक्षार्थीहरूलाई २५ हजार रुपैयाँ बराबरको सिलाई मेसिन र अन्य सामग्री प्रदान गरिएको थियो ।