विराटनगर । कोशी प्रदेश सभाको शून्य समयमा बोल्ने सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रसँगै नागरिकका जनजीविकाको विषयमा प्रश्नहरू उठान गरेका छन् । स्वास्थ्य, शिक्षा तथा किसानका समस्यालाई सांसदले प्राथमिकतामा राखे । प्रदेश सभा सदस्य खिनु लङ्वा लिम्बुले दुग्धजन्य पद्धार्थको बारेमा कुरा राख्दै प्रतिस्थापन विधेयकमा किसानलाई दिइने भनिएको अनुदानलाई प्रभावकारी बनाउन आग्रह गरिन् । अहिले पनि भारतबाट दूध आयात भइरहेको उनले सुनाइन् । ६ रुपैयाँ देखि १० रुपैयाँ कमीसम्म लिटरमा किसानले डेरीलाई बेच्नु पर्ने बाध्यता आएको बताइन् ।
कोशी प्रदेश सभाको शून्य समयमा बोल्दै प्रदेश सभा सदस्य गीतादेवी रेग्मीले त्रियुगा नगरपालिका ११ टेम्पोचोकको मोटरसाइकल ग्यारेजमा भएको आगलागीको विषय उठान गरिन् । उनले आगलागी नियन्त्रण गर्न कन्चनरुप नगरपालिका सप्तरी सहित नजिकका पालिकाबाट गएर आगो नियन्त्रणमा लिनु पर्ने अवस्था रहेको बताइन् । उनले डेढ करोड भन्दा बढी क्षति भएको जानकारी गराउँदै दुर्घटनाको बारेमा सत्य तथ्य पत्ता लगाउन पनि आग्रह गरिन् । त्यस्तै उनले वृद्धाश्रमले दलित भनेर एक वृद्धालाई निकालेको विषयमा आपत्ति व्यक्त गरिन् ।
प्रदेश सांसद गीता तिम्सिनाले प्रदेश निजामती ऐन पास भएपछि कोशी प्रदेशको कर्मचारीको समस्या समाधान हुन सहज गर्ने भनिए पनि अहिले लोकसेवा आयोगको अध्यक्ष पद खाली रहेको बताइन् । सभामुख, मुख्यमन्त्री र प्रतिपक्षी दलको नेता भएको समितिले लोकसेवा आयोगको अध्यक्ष नियुक्त गर्ने प्रावधान रहेको भए पनि लामो समयदेखि सभामुख रिक्त रहेकोले सभामुख पदकोलागि निर्वाचन अघि बढाउन आग्रह गरिन् । सांसद तिलचन पाठकले अस्पतालहरूमा नागरिकको विश्वासलाई घटाएको बताएका छन् । अस्पताले मृत घोषण गरेको व्यक्ति जीवित भएको विषय उठान गर्दै उनले अपराधमा जोडिने डाक्टरलाई कानुनी कार्वाहीमा ल्याउनु पर्ने बताए । अर्की सांसद सपना दर्जीले पनि मृतक भनिएका प्रताप दासको विषय उठाइन् । ज्युँदो मान्छेलाई मृत घोषणा गर्ने अस्पताललाई कारबाही हुनु पर्ने बताइन् ।
सांसद ललिताकुमारी चौधरीले मोरङ निर्वाचन क्षेत्र नम्बर ४ मा रहेका सरकारी स्कुलहरूको स्तरोन्नति गर्नु पर्नेमा जोड दिइन् । उनले देवी मावि, पब्लिक मावि र सरस्वती माविमा व्यवहारमा आधारित प्राविधिक विषयमा जोड दिनु पर्ने बताइन् ।