विराटनगर  । समावेशी समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष किशोरकुमार विश्वासले कोशी प्रदेश नामकरणको विषयलाई लिएर पहिचानवादीको नाममा भएको आन्दोलन एमाले लक्षित भएको बताएका छन्  । उनले आन्दोलन परिचालित भएको पनि दाबी गरे  । नामकरण विरुद्धको आन्दोलन पार्टी लक्षित हुनु नहुने उनको भनाई छ। 
विराटनगरमा समावेशी समाजवादी पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले  पहिचानवादीको आन्दोलन प्रतिपक्षी दल र दलको नेता विरुद्ध हुने बित्तिकै कोहीबाट परिचालित भएको हो भन्ने स्पष्ट भएको बताए  ।  ‘प्रदेश नामकरण विरुद्धको आन्दोलन सरकारप्रति लक्षित हुनुपर्ने हो, उनले भने, प्रदेश सरकार (राज्य) सँग माग राख्नु पर्नेमा कुनै एउटा दल लक्षित हुनु त्यो कसैबाट परिचालित छ भन्ने स्पष्ट हुन्छ ।’ 
नेकपा एमालेले देशव्यापी कार्यक्रम गरिरहेको अवस्थामा उसले कार्यक्रम गर्न पाउनु पर्ने उनको भनाई छ।  ‘संविधानले दिएको अधिकार कसैले अवरोध गर्न मिल्दैन उनले भने,  कार्यक्रम सबैले गर्न पाउनु पर्छ ।’ 
नेकपा एमालेले गत मङ्सिर १४ गते देखि तीन हप्ते मध्य पहाडी लोक मार्ग केन्द्रित ‘झुला घाट–चिवाभञ्ज्याङ’ राष्ट्रिय अभियान सुरु गरेको छ । अभियान भोली देखि कोशी प्रदेश प्रवेश गर्दै छ । कोशी प्रदेश प्रवेश कार्यक्रमलाई लक्षित गरि पहिचानवादीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । कोशी प्रदेश नामकरणको विषयलाई लिएर पहिचानवादीले एमाले लक्षित विरोधको कार्यक्रम सार्वजनिक गरेको प्रति लक्षित गर्दै समावेशी समाजवादी पार्टीका अध्यक्ष विश्वासले प्रतिपक्षी लक्षित आन्दोलन जायज नभएको स्पष्ट पारेका हुन् ।