लक्ष्मी उप्रेती
झापा । झापाको मेचीनगर नगरपालिका भित्र बसोबास गरिरहेका भूमिहीन सुकुम्वासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण सुरु गरिएको छ । पहिलो दिन वडा नम्बर १, २, ३ र ४ मा बसोबास रहेका भूमिहीन सुकुम्वासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण गरिएको हो । नगरपालिकामा प्राप्त निवेदनहरूलाई झन्डै १८ महिनाको अवधिमा कम्प्युटरमा दर्ता गरी निस्सा वितरणको काम सुरु गरेको नगरपालिकाले  जनाएको छ । 
सोमबार नगरपालिकाको वडा नम्बर —३ का अर्जुन राईले पहिलो निस्सा प्राप्त गरेका हुन् । नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मिना पोखरेल उप्रेतीले संयुक्त रुपमा राईसहित देवी राई, चन्द्रकुमार फुयाँल र डिल्लीराम राईलाई निवेदन दर्ताको निस्सा प्रदान गरेका थिए ।  
नगरका १५ वटा वडामा ३ सय ७ भूमिहीन दलित, १ हजार ८ सय १४ भूमिहीन सुकुम्वासी र ३ हजार ३० अव्यवस्थित बसो वासी गरी कुल ५ हजार १ सय ५१ लाई जग्गा धनी निस्सा दिने नगरपालिकाले जनाएको छ।  वडा नम्बर ३ मा मात्र ४५  भूमिहीन दलित, ८६   भूमिहीन सुकुम्वासी र १ सय ९६   अव्यवस्थित बसो वासी गरी कुल ५ सय १९ परिवार छन्  ।  बाँकीलाई वडा कार्यालयले क्रमशः निस्सा वितरण गर्ने योजना रहेको जनाएको छ । त्यस्तै  वडा नम्बर २ मा पनि निस्सा वितरण सुरु भएको छ।  कमला विक, अति माया विकलाई भूमिहीन दलितको निस्सा प्रदान गर्दै वितरण सुरु भएको हो । 
d63134fd-7256-47a1-9db6-1ff50bf69e26
वडा नम्बर २ मा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको सङ्ख्या २ सय ६३ रहेको छ । वडामा भूमिहीन दलित ११, भूमिहीन सुकुम्वासी १२ अव्यवस्थित बसोबासीको सङ्ख्या २ सय ४० रहेको वडाले जनाएको छ ।
लामो समयसम्म सार्वजनिक जग्गामा बसिरहेका भूमिहीन सुकुम्वासी, भूमिहीन दलितलाई राष्ट्रिय भूमि आयोग जिल्ला समिति झापाको सहकार्यमा निस्सा वितरण गरेको हो । मेचीनगर नगरपालिकामा रहेका र हालसम्म निवेदन पेस गरेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको पहिचान गरी बसोवासीको निवेदन दर्ताको निस्सा वितरण गरिएको नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए ।  
वडा नम्बर १ मा भूमिहीन दलित ८, भूमिहीन सुकुम्वासी २० र अव्यवस्थित बसो वासी १ सय १९ गरी कुल १ सय ४७ जना रहेका छन् । वडा नम्बर ४ मा भूमिहीन दलित ३, भूमिहीन सुकुम्वासी २४ र अव्यवस्थित बसो वासी १ सय ९६  गरी कुल २ सय २३ जनाको निस्सा प्रिन्ट भएको छ ।  पहिलो दिन नगर प्रमुख उपप्रमुखसहितको टोलीले निस्सा वितरण गरेको र अब देखि वडा कार्यालयमा पुगेर निस्सा प्राप्त गर्न सकिने छ ।
d0eb1c1c-de5d-4101-9539-b404ba5f17d6

निस्सा वितरण पछि सबै काम सम्पन्न भएपछि छिट्टै नै उनीहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिने नगरपालिकाले जनाएको छ । ‘पहिलो चरणमा नगरपालिकामा सबै प्रक्रिया पुगेकाले निस्सा वितरण सुरु गरेका हौँ’ उपप्रमुख मिना पोखरेल उप्रेतीले भनिन् ‘पुर्जा वितरणका लागि नाप जाँच टोली आएर जग्गा छुट्याए पछि पुर्जा वितरण गर्छौँ ।’ सोमबारबाट सुरु यो वितरण कार्य मङ्सिर २९ गतेसम्म चल्ने छ ।