विराटनगर । नेकपा एमालेको मध्य पहाडी सङ्कल्प यात्रामा अवरोध गर्न खोजेको आरोपमा धनकुटाबाट प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । बाटो बन्द गर्ने खोजेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले किराँत राई यायोख्खा धनकुटा अध्यक्ष उद्धवमणि राई, किरात याक्थुङ चुम्लुङ जिल्ला अध्यक्ष कमलसि तिगेला, उमा चाम्लिङ, जितेन्द्र माम्पाङ, करवील कुलुङ, जुद्ध राई, शोकुल राई पनित कुलुङ प्रदेश पहिचान संयुक्त सङ्घर्ष समिति सङ्खुवासभाका संयोजक वीरेन्द्र खारा राई लाई पक्राउ गरेको हो । उनीहरूलाई धनकुटा र भोजपुरको सीमावर्ती लेगुवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजबाबु महर्जनले जानकारी दिए । शान्ति सुरक्षाको दृष्टिले उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । नेकपा एमालेले सञ्चालन गरेको ‘झुला घाट चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ कोशी प्रदेशमा प्रवेश गरेसँगै पहिचान पक्षधरले यातायात बन्द आह्वान गरेका छन् । १५ दिन अघि झुला घाटबाट सुरु भएको समृद्धिकालागि सङ्कल्प यात्रा भोजपुरबाट धनकुटा प्रवेश गरेको छ । आजै वसन्तपुरमा जनसभाको तयारी गरिएको छ । सभामा कोशी प्रदेशका सुनसरी मोरङ, धनकुटा, सङ्खुवासभा र तेह्रथुमबाट नेता तथा कार्यकर्ताहरू सहभागी हुने छन् ।