विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको सरकार हटेपछि देश राजनीतिक रूपमा अराजकता तर्फ अघि बढेको बताएका छन्  । मध्य पहाडी लोक मार्ग केन्द्रित सङ्कल्प यात्रा अन्तरगत वसन्तपुरमा भएको सभालाई सम्बोधन गर्दै  उनले अढाई वर्ष अघि एमालेलाई सरकारबाट देश विदेशी तत्त्वहरूले षडयन्त्र गरेर हटाएपछि देश  राजनीतिक रूपमा अन्यौलता तर्फ अघि बढी अस्थिरता तर्फ गएको दाबी गरे । उनले देशमा अनेक प्रकारका अवाञ्छित प्रवृत्तिहरू प्रकट भएको बताए । उनले भने, 'राजनीतिक प्रवृत्ति होइन अराजनीतिक प्रवृत्ति छ  । अहिले भइरहेको राजनीतिक माग होइन बेग्लै प्रकारका क्रियाकलापहरू भइरहेका छन् ।' उनले एमालेको सरकार हुँदा देशमा  असाधारण तरिकाले विकास भइरहेको दाबी गरे । उनले वसन्तपुरको सभामा पनि  यो सरकार आफ्नै कारणले ढल्ने बताए । उनले ८४ को चुनावमा एमालेले एकल बहुमत ल्याउन सके मात्रै राष्ट्रियता र स्वधितालाई जोगाउन सक्ने बताए । उनले भने,एमालेले बहुमत ल्याउन सकेन भने राष्ट्रिय स्वाधीनतामा नै आँच पुग्छ । त्यसैले एमालेले ८४ मा एकल बहुमत ल्याउनु पर्छ । उनले मिसन ८४ कै लागि सङ्कल्प यात्रा गरेको बताए । 
अध्यक्ष  ओलीले निर्वाहका लागि नभई धनी हुनका लागि कृषि पेसा अङ्गाल्नु पर्नेमा जोड दिए । उनले पश्चिमबाट पूर्व आउँदा समस्याहरू के रहेछन् ? सम्भावनाहरू के रहेछन् भन्ने कुरा थाहा पाएको बताए । उनले विभिन्न पेसा व्यवसाय गरेका, पत्रकार बुद्धिजीवी प्राध्यापकहरूसँग अन्तरक्रिया गरेको सुनाए ।  यो यात्राले आफू उत्साहित भएको ओलीले बताए । आम जनताले उत्साहपूर्ण रूपमा सुझाव दिएको ओलीको ठम्याई छ ।   उनले जनताले दिएका सुझावका आधारमा एमालेले आगामी योजना र कार्यक्रम तय गर्ने बताए ।  विभिन्न स्थानमा सुझाव पत्र दिने र ध्यानाकर्षण बुझाउनेहरूलाई उनले धन्यवाद दिए ।