विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचानको माग बाटोमा रुख ढालेर समाधान नहुने बताएका छन् । तेह्रथुमको म्याङ्लुङमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले वार्ता, छलफलबाट समाधान खोजिनु पर्ने पहिचानको मुद्दा बाटोमा ढुङ्गा लगाएर, सल्लोको रुख ढालेर सम्बोधन नहुने बताए । ‘बाटाको ढुङ्गा मुढाले, बाटाका विरोध प्रदर्शनले, बाटाका व्यवधानले, बाटाका सल्लाको रुख ढालेर, बाटाको सल्लाको रुखले समस्याको समाधान हुँदैन, ओलीले भने, सल्लाको रुख उभिँदा समस्या भएको हो र त्यसको समाधान रुख ढालेर हुन्छ र ? बाटो अवरोध गर्ने, सल्लाको रुख ढाल्ने काम नचाहिने कुरा हो ।’
आफूहरू आफ्नो यात्रामा समृद्ध नेपाल सुखी नेपालीको अभियानमा हिँडेकोले यो कसैको विरुद्ध नभएको ओलीले स्पष्ट पारे । हाम्रो देशको पक्षमा, जनताको पक्षमा आफूहरू हिँडेको बताएका ओलीले आफ्नो विरुद्धमा लागेका साथीहरू पनि यो अभियानबाट प्रतिफल पाउने बताए । ‘हामीले जेलनेल भोगेको, हामीले बलिदान दिएको, हामीले दुख कष्ट गरेको हाम्रोलागि हैन, उहाँहरूको निम्ति हो, ओलीले भने, यो अभियानको बारेमा सबैले बुझ्नु राम्रो हुन्छ भन्ने मेरो आग्रह हो ।’