विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक नेतृत्व, व्यापारी र कर्मचारीको सेटिङमा एनसेल काण्ड भएको बताएका छन् ।
दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै नेता कोइरालाले एनसेल काण्डमा पनि दोषीलाई कारवाही नहुने बताए ।
उनले एनसेलमा पनि राजनीतिक नेतृत्वको सहभागिता छ उनले भने,अन्य काण्डजस्तै आठ–दश दिनमा एनसेलको पनि रिपोर्ट आउला तर त्यसले राजनीतिक नेतृत्वलाई छुँदैन । उनले व्यापारी र अलिअलि कर्मचारीलाई कारवाही भएपनि राजनीतिक नेतृत्वलाई कारवाही नहुने दावी गरे ।
उनले यस्ता घटनाम राजनीतिक नेतृत्वले भने उन्मुक्ति पाउने गरेको बताए । उनले राजनीतिक नेतृत्वको संरक्षणमा मुलुकमा भ्रष्टाचार मौलाएको आरोप लगाएका छन् ।
राजनीतिक संरक्षण बिना ठूला भ्रष्टाचार हुनै नसक्ने ठोकुवा गरे । भ्रष्टाचारलाई ढाकछोप गर्न एकपछि अर्को भ्रष्टाचारका काण्डहरु बाहिर आइरहेको उनको दाबी थियो । “सुनकाण्डको छानबिन कहाँ पुग्यो ? ललित निवासको छानबिन के हुँदैछ ? अहिले एनसेल काण्ड आएको छ ।
भ्रष्टाचार काण्डका विषयमा गठन हुने कुनै पनि छानबिन समितिको प्रतिवेदन बाहिर आउने गरेको छैन,नेता कोइरालाले भने । कोइरालाले भ्रष्टाचारका कारण अन्तर्राष्ट्रियस्तरमा देशका नाम बदनाम भएको जिकिर गरे । राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अराजकतातर्फ देश अगाडि बढेको भन्दै नेता कोइरालाले चिन्ता व्यक्त गरे ।
वर्तमान नेतृत्वबाट देश नबने बताउँदै कोइरालाले जतिसक्दो चाँडो गठबन्धन सरकारको नेतृत्व परिवर्तन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा वरिष्ठ साहित्यकार भागिरथी श्रेष्ठ र वरिष्ठ पत्रकार आदरणीय धर्मेन्द्र झा दाइलाई नगदसहित पुरस्कृत गरिएको थियो । श्रेष्ठलाई ५१ हजार र झालाई २५ हजार नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
त्यस्तै वरिष्ठ साहित्यकार दधिराज सुवेदीको उपचारमा संलग्न भक्तपुर क्यान्सर अस्पतालका डा. उज्ज्वल चालिसेलाई समेत सम्मान गरिएको थियो । त्यस्तै विराटनगर महागरपालिकाका मेयर नागेश कोइरालाले भाषा, साहित्य, कला, संस्कृतिसहित चौतर्फी विकासले मात्रै विराटनगर समृद्ध हुने बताए ।
विशिष्ट अतिथिका रुपमा सम्बोधन गदैै मेयर कोइरालाले विराटनगरमा छरिएर रहेका सबै भाषा, संस्कृति, कला र साहित्यको विकासका लागि महानगरले योजनाबद्ध रुपमा काम गरिरहेको जानकारी दिए । प्रज्ञा प्रतिष्ठान गठनकोतयारी भइरहेको बताउँदै मेयर कोइरालाले भौतिक संरचनाको विकाससँगै मानवीय सूचकांकको विकासमा आफू गम्भीर रहेको सुनाए ।