विराटनगर । कोशी प्रदेशको प्रदेश सभामा बहुमत कायम राखिराख्न सत्ता गठबन्धन राप्रपालाई सभामुख पद दिन तयार देखिएका छन् । तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि रिक्त रहेको सभामुख पद राप्रपालाई दिन तयार भएपछि राप्रपाले सभामुखमा अम्बर बहादुर विष्टलाई  अगाडि सार्ने तयारी गरेको छ । राप्रपाले औपचारिक रूपमा सभामुख लिने  निर्णय नगरे पनि सभामुख लिन भने तयार  देखिएको छ  ।

राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सत्ता गठबन्धन र एमाले दुवैसँग सभामुखका विषयमा छलफल भएको बताए । उनले राप्रपा सभामुख लिने विषयमा पोजेटिभ रहेको बताए । उनले भने, अहिले सम्म सभामुख लिएर जानु पर्छ भन्नेमा छौ । भोलीबाट बस्ने केन्द्रीय कमिटीको बैठकले अर्को निर्णय गरेन भने हामी कोशी प्रदेशमा सभामुख पद  लिएर अगाडि बढ्ने छौ । उनले सभामुख पद लिए पनि सरकारमा जाने विषयमा भने राप्रपाले नसोचेको र यस बारेमा छलफल समेत नभएको सिटौलाले बताए । 

सत्ता गठबन्धनको ठुलो घटक नेपाली काँग्रेस संसदीय दल कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापाले आफूहरूले राप्रपालाई सभामुख पद लिनुस् भनेर भनेको बताए । उनले भने, हामीले आग्रह गरेका छौ । उहाँहरू पनि पोजेटिभ हुनुहुन्छ । एमालेसँग छलफल गरेर केही दिन भित्रमै कोशीमा रित रहेको सभामुख पद पूर्ति गरिन्छ । 

सहमति भए सहमतिमा नभए निर्वाचन प्रक्रियामा गएर भए पनि सभामुख नियुक्त हुने थापाले बताए  । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आंवोले शीर्ष नेताहरूका बिचमा सभामुख  राप्रपालाई दिने सहमति भएकाले आफूहरू सहमतिबाट पछि नहट्ने बताए । उनले भने राप्रपालाई सभामुख दिने विषयमा सत्ता गठबन्धनका बिचमा सहमति भएको छ । 

राप्रपालाई सभामुख दिँदा राप्रपाले अम्बर बहादुर बिस्टलाई सभामुख बनाउने छ । उनी समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य भएका हुन् । उमेरका हिसाब र आवश्यकताका हिसाबले पनि हामीले सभामुखमा पठाउने अम्बर बहादुर विष्ट हो । संसदीय दलका नेता सिटौलाले भने, सभामुख लिने परिश्थती बने सभामुख माननीय अम्बर बहादुर विष्ट हुनु हुने छ । गौरादहा ७  ग्वालाडुव्वा घर भएका विष्ट झापा जिल्ला पञ्चायतका सदस्य भएका थिए ।  पञ्चायाती व्यबस्थाका बेलादेखि नै राजनीतिमा सक्रिय विष्ट ४६ सालपछि पनि निरन्तर राप्रपाको राजनीतिमा सहभागि छन् ।