इटहरी  । अन्य पालिकामा दर्ता भएका सिटी सफारीका कारण पार्कीङ्ग व्यवस्थापनमा समस्या भएको भन्दै इटहरी उप महानगर पालिकाले सफारीमा टाइम कार्ड लागू गरेको छ । छिमेकी पालिकाहरूबाट इटहरी  नगर क्षेत्रभित्र  सिटी सफारीहरू माल सामान र यात्रु लिएर प्रवेश गर्न पाए पनि फर्की हाल्नु पर्ने नयाँ व्यवस्था सहितको टाइम कार्ड लागू भएको हो । यसका लागि इटहरी प्रवेश गर्ने सबै नाकामा सफारीको इन्ट्री गर्ने र तोकिएको समय भित्र फर्कनु पर्ने व्यवस्था मिलाइएको इटहरी उप महानगर पालिकाले जनाएको छ । 
यात्रु र सामान लिएर इटहरीमा आउन पाइन्छ,इटहरी उप महानगरका मेयर हेम कर्ण पौडेलले भने‘इटहरीमा यात्रु र माल समान लिएर आउन पाइन्छ तर तोकिएको समय सीमा भित्र फर्कनुपर्छ ।’ उनले समय सीमा भित्र नफर्कने सफारीलाई कारबाही गरिने बताए । इटहरीसँग सिमाना जोडिएका सुनसरीको दुहबी, राम धुनी मोरङको सुन्दरहरैचा लगायतका पालिकाहरूमा दर्ता गरी ती पालिकामा सञ्चालन गर्ने अनुमति पाएका सिटी सफारीहरू समेत इटहरीमा सञ्चालन हुँदै आएका छन् । 
सडकमा अत्यधिक सिटी सफारी भएपछि पार्कींगमा समस्या हुँदै आएको छ । अन्यत्र दर्ता भई त्यही सञ्चालन गर्ने अनुमति पाएका सफारी समेत उप महानगरमा सञ्चालन भएपछि दुर्घटनाको दर समेत बढ्दै गएको छ । पार्कींग व्यवस्थापनमै समस्या भएपछि इटहरी उपमहानगरपालिकाले सिटी सफारीलाई व्यवस्थित गर्नका लागि भदौ १७ गतेदेखि बाहिरका स्थानीय तहमा दर्ता भएकालाई इटहरीमा प्रवेश गर्न नदिने निर्णय भएको थियो । उप महानगर भित्र प्रवेशमै रोक लगाइएपछि सफारी चालकहरूले आन्दोलन गरेका थिए । यात्रु बोकेर आएका र सामान बोकेर आएका सफारीलाई प्रवेश गर्न नदिने उप महानगरको निर्णयका विरुद्ध सर्वसाधारणे समेत विरोध गरेका थिए । सिमानाबाट इटहरी क्षेत्रमा सफारीमा चढेर आउन नपाएपछि दोहोरो भाडा तिर्नु परेको सर्वसाधारणले गुनासो गरेका थिए । सर्वसाधारणको विरोध र सफारी चालकको आन्दोलन पछि उप महानगरले निर्णयलाई उल्टाउँदै प्रवेशमा रोक लगाउने निर्णयबाट पछि हट्दै टाइम कार्ड लागु गरेको हो । सिटी सफारी सबैभन्दा बढी झापा, मोरङ र सुनसरीका ठुला सहरमा सञ्चालनमा रहेका छन् । पछिल्लो समय पूर्वका पहाडी जिल्लामा पनि सिटी सफारी सञ्चालन हुने गरेका छन् । कोशी प्रदेशमा मात्र २० हजार हाराहारी सिटी सफारी रहेको कोशी अञ्चल यातायात कार्यालय इटहरीले जनाएको छ ।