विराटनगर । मानव बेचबिखन तथा ओसार पसार विरुद्धको अभियानलाई प्रभाकारी बनाउन मोरङका पालिकाहरूमा ओसार पसार विरुद्धको सञ्जाल गठन हुन थालेको छ ।
माइती नेपाल विराटनगर कार्यालयले मोरङ लेटाङ नगरापालिका,सुन्दरहरैचा नगरपालिका,केराबारी गाउँपालिका र जहदा गाउँपालिकामा पालिका स्तरीय सञ्जाल गठन गरेको माइती नेपाल मोरङका संयोजक विनोद पोख्रेलले बताए । मानव बेचबिखन विरुद्धको काम प्रभावकारी बनाउन वडा तह सम्म यस्ता सञ्जाल गठन गर्ने तयारी रहेको माइती नेपालले जनाएको छ ।
यस्ता सञ्जाल मोरङ जिल्लाका सबै पालिकाहरूमा गठन गर्ने कार्यक्रम रहेको छ ।
सञ्जालमा मानव अधिकार क्षेत्रमा काम गर्ने सामाजिक सङ्घ संस्था प्रतिनिधि,नागरिक समाजका अगुवा,जनप्रतिनिधि, शिक्षक र प्रहरीका प्रतिनिधि र बाल क्लबका सदस्य समेत आबद्ध छन् ।
सञ्जालले आफ्नो पालिका क्षेत्रमा महिला तथा बालबालिकाहरूमा हुने हिंसाको अभिलेखीकरण गर्ने, हिंसा भइरहेको भए सम्बन्धित निकायमा जानकारी दिएर सहयोग गर्ने काम गर्नेछ ।
यसै बिच विराटनगर महानगरपालिका वडा नम्बर ८ मानव बेचबिखन तथा ओसार पसार विरुद्धको सञ्जाल समिति गठन भएको छ ।
वडा अध्यक्ष राम पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा लक्ष्मी आचार्यको संयोजकत्वमा सात सदस्यीय समिति गठन भएको छ । समितिमा सचिवमा भुवन राजवंशी रहेको माइती नेपालका काउन्सीलर गीताञ्जली शर्माले बताइन् । सञ्जाल गठनले वडा तहमा महिला तथा बालिबालिका माथि हुने हिंसा र विभेद घटाउन मद्यत पुग्ने वडा अध्यक्ष राम पोख्रेलले बताए । उनले माइती नेपालले वडा तहमै काम गर्दा वडामा यस्ता समस्या कम हुने विश्वास व्यक्त गरे ।