विराटनगर । विराटनगरमा रहेको पवित्र पृथ्वी समाजको नवौँ वार्षिक साधारण सभा  विभिन्न कार्यक्रम गरी मनाइएको छ। गाउँका केही व्यक्तिहरू मिलेर सुरु भएको संस्था नवौँ वर्षमा प्रवेश गरेको हो । संस्था स्थापना गर्नकोलागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विभिन्न व्यक्तिहरूलाई सम्मान समेत गरिएको संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष शरद पराजुलीका अनुसार, संस्थामा रहेर आजीवन सदस्य रहेका व्यक्तिहरूलाई सम्मान गरिएको जानकारी दिए । 
पवित्र पृथ्वी समाज सम्मान, फरक क्षमताको व्यक्ति र जनक स्मृति सम्मान प्रदान गरिएको हो ।  पवित्र पृथ्वी समाज सम्मानबाट दीपक भण्डारी, सरोज पराजुलीलाई २ हजार पाँच सय, केशवप्रसाद पराजुली र टेकप्रसाद धमलालाई ५ हजार एक सय नगद सहित सम्मान गरिएको संस्थाका अध्यक्ष पराजुलीले जानकारी दिए ।  त्यस्तै फरक क्षमताको ब्यक्ति सम्मानबाट अर्जुन पराजुली र जनक स्मृति सम्मानबाट ज्ञानकुमारी नेपाललाई नगद ५ हजार एक सयबाट सम्मान गरिएको अध्यक्ष पराजुलीले बताए ।  
आजीवन सदस्य २११ जना सदस्य रहेकोमा  शनिवार मात्र ६ जना थपिँदा संस्थामा अहिले सदस्य सङ्ख्या २१७ पुगेको छ । जना रहेका आजीवन सदस्य बन्नकालागि ५ हजार पाँच रुपैयाँ तिर्नु पर्ने संस्थाले नियम बनाएको छ भने साधारण सदस्य बन्नकालागि ५ सय तिरे हुने व्यवस्था गरिएको  संस्थाका सदस्य कृष्णप्रसाद निरौलाले जानकारी दिए ।  कार्यक्रममा स्वागत गर्दै संस्थाकी उपाध्यक्ष गीता सापकोटा धमलाले समाज सेवा गर्नको लागि गाउँका सबै मिलेर खोलिएको संस्थाप्रति धेरैको विश्वास रहेको बताइन् । संस्थाले गरेका गतिविधि तथा क्रियाकलापहरूको विश्वासले सदस्यहरूको उत्साहजनक सभागीता रहेको उल्लेख गरिन् ।  संस्थाको कामलाई प्रभावकारी बनाउने काममा  सबै लाग्नु पर्नेमा जोड दिइन् ।

कार्यक्रमका प्रमुख  अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरेले संस्थाले चालु आर्थिक वर्षमा महत्त्वाकाङ्क्षी बजेट बनाइएको बताए । गत वर्ष साँढे ७ लाखको हिसाबकिताब रहेकोमा अहिले ३२ लाखको बजेट कार्यान्वयन गर्न चुनौती रहेको भए पनि सबै मिलेर काम गर्न सक्दा त्यो गर्न सकिने बताए । उनले संस्थालाई यहाँसम्म ल्याउन भूमिका खेल्ने सबैप्रति धन्यवाद दिए ।  विराटनगर महानगरपालिका वडा नम्बर  ३ का वडा अध्यक्ष वासुबहादुर बस्नेतले चालु आर्थिक वर्षमा संस्थागत सहयोग गर्न नसकिएको भए पनि आगामी दिनमा सहयोग गर्न सकिने बताए । संस्थाले माग गरेको अवस्थामा एक लाखसम्मको कार्यक्रम छुट्ट्याउन सकिने बताए ।