विराटनगर । नागरिक उन्मुक्ति पार्टी (एकीकृत)ले  प्रदेशको नामको विषयमा जनमत सङ्ग्रह गर्न माग गरेको छ । प्रदेशको नामकरणपछि आन्दोलन गर्दै आएको नागरिक उन्मुक्ति पार्टीले  इटहरीमा भएको पत्रकार सम्मेलनमा कोशी नामका विषयमा जनमत सङ्ग्रह गर्न माग राखेको हो ।
नागरिक उन्मुक्ति पार्टीका सङ्घीय अध्यक्ष ज्ञानबहादुर गुरुङले जनमत सङ्ग्रहमा गए कोशी नाम स्वीकार नहुने दाबी गरे । उनले भने प्रदेशका अधिकांश नागरिक कोशी नामको विपक्षमा रहेको दाबी गरे ।
उनले भने, अधिकांश नागरिक कोशी नामको विपक्षमा छन्, केही दलहरूले कोशी नाम राख्दैमा स्वीकार गर्नु पर्छ भन्ने छैन । गुरुङले कोशी नामका पक्षमा मत हाल्ने सांसदले समेत गोप्य मतदानमा  लैजाने हो भने मत नहाल्ने दाबी गरे । 
गुरुङले अहिले पनि नामका विरुद्धमा आन्दोलन भई रहेकाले आन्दोलनबाट हुने धन जनको क्षति रोक्न सरकार जिम्मेवार हुनुपर्ने बताए । उनले  उन्मुक्ति पार्टीको महाधिवेशन पछि अझै सशक्त आन्दोलन हुने बताए । 

पत्रकार सम्मेलनमा सङ्घीय सह सचिव पदम अधिकारीले यो प्रदेशमा तीन वटा राष्ट्रियता भएको भन्दै त्यसैका आधारमा प्रदेशको नामकरण हुनुपर्ने बताए । यहाँ लिम्बुवान किराँत र कोचिला राष्ट्रियता छ । अधिकारीले भने, लिम्बुवान किराँत मात्रै होइन नामकरणले कोचहरूको समेत सम्बोधन हुनु पर्ने बताए । 

उन्मुक्ति पार्टीको  पुस २६, २७ र २८ गते कैलालीको टिकापुरमा नागरिक उन्मुक्ति पार्टीको एकता महाधिवेशन हुँदै छ ।  महाधिवेशनको तयारी स्वरूप प्रतिनिधि छनोट गर्ने क्रम अन्तिम तयारीमा रहेको प्रदेश अध्यक्ष धनबहादुर पान्धकले बताए । 
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट फुटेर ज्ञानबहादुर गुरंगको नेतृत्वमा रहेको समूहले नागरिक उन्मुक्ति पार्टीसँग एकता गरेको थियो ।