विराटनगर । राष्ट्रिय सभा निर्वाचनमा काङ्ग्रेसबाट सम्भावित उम्मेदवारको नाम कोसी प्रदेश समितिले सिफारिस गरेको छ ।
प्रदेश समितिका सभापति उद्धव थापाको सभापतित्वमा प्रदेश राजधानी विराटनगरमा बसेको बैठकले जिल्लागत रूपमा आएका सिफारिसलाई आधार बनाइ केन्द्रीय समितिमा नाम सिफारिस गरेको हो । सिफारिस भएका मध्ये पुरुष ३८ र महिला २५ जना गरी ६३ जनाको नाम सिफारिस भएको हो ।
काँग्रेस कोसी प्रदेश समितिको सूचना तथा सञ्चार समितिका संयोजक बासु कोइरालाले दिएको जानकारी अनुसार सिफारिस हुनेमा सङ्घीय सरकारमा यसअघि मन्त्री रहिसकेका चार जना छन् । पार्टीका पूर्व महामन्त्री तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला, पूर्व मन्त्री महेश आचार्य, डा. मिनेन्द्र रिजाल र सूजाता कोइराला लगायतको नाम सिफारिस भएको छ । यसैगरी पूर्व सङ्घीय सांसद डिला संग्रौला, नेविसंघ पूर्व सभापति गुरुराज घिमिरे,उमेशजंग रायमाझी, आङ्गेलु शेर्पा र रुक्मिणी कोइराला लगायतको नाम पनि सिफारिसमा परेको छ ।
बैठकले प्रदेशस्तरीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको संयोजकमा काँग्रेस कोशी प्रदेश समितिका उपाध्यक्ष रमेशजंग रायमाझी नियुक्त भएका छन् । बैठकले काँग्रेसको कोशी प्रदेश सम्मेलन विराटनगरमा गर्ने निर्णय गरेको छ । सम्मेलनको मिति तय नभए पनि माघ अन्तिमसम्ममा गर्ने तयारी रहेको प्रदेश सभापति उद्धव थापाले जानकारी दिए ।
राष्ट्रिय सभामा रिक्त हुने पदहरूको पूर्ति गर्ने उद्देश्यसाथ निर्वाचन आयोगले निर्वाचनको कार्यपालिका सार्वजनिक गरिसकेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको कार्यपालिका अनुसार मङ्सिर २४ गतेदेखि २९ गतेसम्म निर्वाचनमा भाग लिने राजनीतिक दलले दर्ता गरिसकेका छन् । दलहरूलाई चुनाव चिन्ह प्रदान गरी आयोगले पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यपालिका प्रकाशन गरेको छ । माघ ११ गते बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान कार्य गरिने आयोगले यसअघि नै जनाएको थियो ।