इटहरी । नगर सभा बैठक स्थगित गरेको विषयमा नेकपा एमालेले भ्रम फैलाएको इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले आरोप लगाएका छन् ।
नेकपा एमाले इटहरीका संसदीय दलका प्रमुख, उपप्रमुख सहितका जनप्रतिनिधिहरूको सहमतिमा स्थगित गरिएको बैठकलाई एकलौटी गर्यो भन्दै भ्रम फैलाएको मेयर पौडेलले बताएका छन् ।
उपमहानगरपालिकाका नगरप्रमुख र नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू एक अर्कामा आरोप प्रत्यारोपमा उत्रँदा विवाद उत्कर्षमा पुगेको छ ।
हिजो बुधवार बोलाइएको १४ औँ नगर सभा बैठक तयारी नपुगेको भन्दै सहमतिमै स्थगित गरिए पनि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले एकलौटी ढङ्गले स्थगित गरेको भन्दै भ्रम फैलाएको नगर प्रमुख हेमकर्ण पौडेलले बताए ।
आज पत्रकार सम्मेलन गर्दै नगरप्रमुख पौडेलले कार्यपालिकामा बहुमत सदस्य रहेको एमालेबाट निर्वाचित जनप्रतिनिधिको अनुचित दबाबले काम गर्न नसकिएको आरोप लगाएका छन् ।
राजस्व, शुल्क तथा जरिवाना घटाउनुपर्ने माग राख्दै आएका एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले बुधवारको नगर सभामा सो विषयमा छलफल हुने कार्यपालिका थियो । तर पार्टीको ह्विपमा उनीहरूले नगर सभा बैठक अवरुद्ध गर्न खोजेको नगरप्रमुख पौडेलले आरोप लगाए ।
कार्यपालिका र नगर सभामा पर्याप्त छलफल गरेर कर तथा राजश्व बढाउने प्रस्ताव पास गरिएको विषयलाई लिएर एमालेले बारम्बार दोहोरो चरित्र देखाउँदै विरोध गर्नुको कुनै औचित्य नरहेको नगरप्रमुख पौडेलको भनाई छ ।
इटहरी उपमहानगर कार्यपालिकामा ३० जना कार्यपालिका सदस्यमध्ये उपप्रमुख सहित २४ जना एमालेबाट निर्वाचित सदस्य छन् भने प्रमुख सहित ६ जना नेपाली काँग्रेसबाट निर्वाचित सदस्य छन् ।
यस्तै १०४ जना नगर सभा सदस्यमध्ये ८३ जना एमालेबाट निर्वाचित रहेका छन् भने २१ जना मात्र नेपाली काँग्रेसबाट निर्वाचित सदस्य रहेका छन् ।