इटहरी । इटहरी उपमहानगरको कर समायोजन तथा पुनरावलोकन समितिका संयोजकले नै प्रतिवेदन च्यातेर करको दर हेरफेर गरेको मेयर हेमकर्ण पौडेलले आरोप लगाएका छन् ।
इटहरीमा बढेको करको विषयमा छानबिन गर्न गठित कर समायोजन तथा पुनरावलोकन समितिका संयोजक तथा वडा न. ३का वडा अध्यक्ष उमेश सुवेदीले समितिले तयार पारेको प्रतिवेदनको चार पन्ना च्यातेर पुन संशोधन गरेको मेयर पौडेलले आरोप लगाएका हुन ।
समितिले तयार पारेको प्रतिवेदनमा निजी विद्यालयलाई लगाइएको करको दर बढी भएको भन्दै पाटी भित्रबाट चर्को आलोचना भएपछि आफैले च्यातेर पुनः सच्याउँदै संशोधन गरेको मेयर पौडेलले बताए ।
कर विवाद तथा नगर सभा स्थगितको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मेयर पौडेलले पुस ४ गतेको कार्यपालिका बैठक अघि प्रतिवेदनमा निजी विद्यालयको करको दर संशोधन भएको बताए ।
मेयर पौडेलले भने,‘ निजी स्कुलको कर बढी भएको भन्ने वहाँहरूलाई लागेको कुरा संशोधन गर्न त ४ गतेको बैठक भन्दा अघि नै ४ पन्ना च्यातेर उहाँहरूले निजी स्कुलको २ स्लाब स्कुललाई ३ स्लाब बनाएर लिएर जानुभएको हो । ’
निजी स्कुलको कर बढी भयो भन्ने कुरामा पाटी भित्रका केही व्यक्तिहरूले विरोध जनाएपछि समितिका संयोजक सुवेदीले सच्याएको मेयर पौडेलले बताए ।
सोही सच्याइएको प्रतिवेदन पुस ४ गते बसेको कार्यपालिका बैठकमा पेस गर्दै हुबहु पास गर्नुपर्ने भन्दै दबाब दिएको मेयर पौडेलले बताए ।
उनले भने,‘ पुस ४ गतेको बैठकमा उहाँहरूले प्रतिवेदन हुबहु भन्ने शब्द राख्नुपर्छ भन्दै दबाब दिनुभयो, एक शब्द पनि तल माथि गर्न पाइँदैन भन्ने दबाब थियो । तर ४ गते भन्दा अघि नै ४ पन्ना च्यातेर सच्याइएको थियो नि ।’
यस्तै भूमिकरको विषयमा पनि पहिले सहमति भइसकेको विषयमा एमालेका वडाध्यक्ष तथा जनप्रतिनिधिले बखेडा झिकेर विवाद सृजना गरेको मेयर पौडेलले बताए ।
पाँच वडाको मात्रै भूमिकर घटाउनुपर्ने भन्दै दबाब दिएपछि आफूले २० वटै वडाको भूमिकर समायोजन गर्नुपर्ने अडान लिएपछि नगर सभा स्थगित गर्नुपर्ने अवस्था आएको मेयर पौडेलले स्पष्ट पारे ।
‘एमालेका केही वडा अध्यक्षहरूले ५ वटा वडाको भूमिकर बढी भयो संशोधन गरौँ भन्ने दबाब दिनुभयो । मैले सबै २० वटै वडाका वडा अध्यक्षको सहमतिमा विज्ञ सहितको सुझावमा संशोधन गरौँ भन्ने अडान लिएँ, त्यसपछि मतभेद भयो । ’ मेयर पौडेलले भने, ‘ त्यसपछि उपमेयर सङ्गीता चौधरी, वडा १७का अध्यक्ष प्रभात आचार्य, प्रमोद शेपा र प्रमुख प्रशासकीय अधिकृतको सहमतिमा नगर सभा सहमतिमै स्थगित गरिएको हो । ’
एमालेको संसदीय दलको नेता तथा उपनेता सहितको सहमतिमा नगर सभा स्थगित गरेको विषयलाई एमालेका जनप्रतिनिधिहरूले मेयरले एकलौटी बैठक स्थगित गर्यो भन्दै भ्रम फैलाएको मेयर पौडेलले बताए ।
इटहरीमा एमालेका जनप्रतिनिधिहरूले दोहोरो चरित्र देखाउने गरेको मेयर पौडेलको आरोप छ ।
पाटी भित्रका केही मान्छेले दिएको चिर्कटो लिएर आउँदै सहमति भएको विषयमा पुन ः विवाद सृजना गर्दै दोहोरो चरित्र प्रस्तुत गर्ने गरेको मेयर पौडेलले आरोप लगाएका छन् ।
मतभेद र विवाद भए पनि इटहरीको विकासका लागि आफू सहमति र सहकार्य गर्दै अगाडि बढ्ने मेयर पौडेलले बताएका छन् ।