विराटनगर । मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणमा पछिल्लो समय चुनौती थपिँदै गएको सरोकारवालाहरूले औँल्याएका छन्  ।   माइती नेपाल विराटनगरले आयोजना गरेको मानव बेचबिखन तथा ओसारपसार विरुद्ध  नियन्त्रण विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले मानव बेचबिखनको विषय प्रविधिसँगै परिवर्तन हुँदै गएकोले पहिचानमा नै समस्या रहेको बताएका हुन् । फ्री अ गर्लको सहयोगमा भएको कार्यक्रममा स्थानीय तह र प्रदेशहरूले मानव बेचबिखन नियन्त्रणको विषयलाई प्राथमिकतामा राख्न नसकेको सरोकारवालाको भनाई छ । मानव अधिकार आयोग प्रदेश कार्यालय विराटनगरका प्रमुख पवन भट्टले मानव बेचबिखन तथा ओसारपसारसँग सम्बन्धित विषय मानव सुरक्षाको विषयसँग पनि जोडिएकोले  संयुक्त पहलबाट समाधान गरेर जानु पर्ने बताए ।  
गैरसरकारी संस्था महासङ्घ मोरङका अध्यक्ष विष्णु शर्माले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणमा स्थानीय तह र प्रदेश सरकारले एक रुपैयाँ पनि नछुट्टाएको बताइन् । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको विषयमा सबै एक भएर लाग्नु पर्नेमा स्थानीय तह र प्रदेश पनि यस विषयमा जिम्मेवार हुनु पर्ने उनको भनाई छ। 
माइती नेपालका कार्यक्रम संयोजक विनोद पोखरेलले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण अभियानमा सन् २०२३ मा १५७ जनालाई सीमा नाकाबाट फर्काएको जानकारी दिए । मानव बेचबिखन तथा ओसार पसार भएको हुनसक्ने आशङ्कामा उनीहरूलाई रोकेर फिर्ता गरिएको उनको भनाई छ । माइती नेपालसँग  हराइरहेकाहरू ४१ जनाको निवेदन परेकोमा ४ जना फेला परेको, एक जनालाई  यौनजन्य हिंसा भएको, ८७ जनामा घरेलु हिंसा भएको तथ्याङ्क छ । सिधै सीमा नाकाबाट २० जनाको उद्धार हुँदा २ हजार ६ सय ८ जनामा  मानव बेचबिखन विरुद्ध सचेतना पुगेको पोखरेलले जानकारी दिए । 
सिमानाकाबाट उद्धार गरिएकाहरूमा मोरङका  ५१, सुनसरीका ३०, झापाका १७, उदयपुरका १०, सङ्खुवासभा  सप्तरीका ७–७ जना छन् । त्यस्तै भोजपुरका ६, तेह्रथुमका ५, इलाम र खोटाङका ४–४ जना रहेको पोखरेलले बताए । सिराहाका ३, नुवाकोटका २ जना सहित पाँचथर, सिन्धुली, म्याग्दी, कैलाली, काभ्रेका पनि रहेका छन् । माइती नेपालका अनुसार मोरङ जिल्लाका उद्धार भएका ५१ जना मध्ये विराटनगर महानगरपालिकाका ८, अन्य नगरपालिकाका ३२ र गाउँपालिकाहरूको ११ जना रहेका छन्  । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी सहित विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, मानव अधिकार आयोग, सञ्चारकर्मी र अभिवक्ता सहभागी कार्यक्रमको संचालन गिताञ्जली शर्माले गरेकी थिइन् ।