इटहरी । प्रहरी प्रदेश अस्पतालको उद्घाटन तथा सञ्चालनको वातावरण बनाइदिन भन्दै सुनसरीका काँग्रेस नेताहरू काठमाडौँ प्रधानमन्त्री देखी पार्टीका शीर्ष नेताहरूको ढोका ढोका धाइरहेका छन् ।
प्रहरी अस्पताल सञ्चालनका लागि पूर्वाधारमा विभिन्न पालिकाहरूको लाखौँ रकम खर्च भइसकेको अवस्थामा पुनः अस्पताल अन्यत्र सार्ने प्रयास भएको भन्दै काँग्रेस नेताहरूले प्रधानमन्त्री सम्मलाई भेटेर अस्पतालको स्थायित्वको माग गरेका हुन ।
लामो समयको प्रयास पछि प्राप्त भएको अस्पताल गुम्न नदिन र अन्यत्र सार्न नदिन तथा इनरुवामा नै स्थापित गरिदिन भन्दै प्रधानमन्त्री, मन्त्री देखी पार्टीका शीर्ष नेतालाई भेटेर ध्यानाकर्षण गराइरहेका छन् ।
केही समय अघि मोरङको बेलबारीमा रहेको प्रहरी प्रदेश अस्पताल स्थान अभाव भएको भन्दै रातारात सुनसरीको इनरुवा सारिएको थियो । समन्वय समिति सुनसरीले प्रयोग गर्दै आएको भवनमा प्रहरी प्रदेश अस्पताल सारिएको थियो ।
बेलबारीबाट इनरुवा सारिएको प्रहरी अस्पतालको उद्घाटन गर्न अवरोध गर्दै राजनीतिक दबाब आएपछि अस्पतालको उद्घाटन तथा सञ्चालनका लागि वातावरण बनाइदिन भन्दै सुनसरीका शीर्ष नेताहरू दिनदिनै पार्टीका शीर्ष नेता, मन्त्री देखी प्रधानमन्त्री सम्मलाई भेटेर ध्यानाकर्षण गराउन थालेका छन् ।
काँग्रेसका केन्द्रीय सदस्य सहित जिल्ला स्थित शीर्ष नेताहरू अन्य राजनीतिक दलका नेताहरूको साथ समर्थन लिएर केही दिन देखी काठमाण्डौँमै बसेर नेता तथा सरकारका प्रमुखलाई ध्यानाकर्षण गराइरहेका छन् ।
काठमाडौँ पुगेको सुनसरीको टोलीले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका छन् ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरू राजीव कोइराला,ज्ञानेन्द्र बहादुर कार्की, राजीव ढुङ्गाना, जिल्ला समन्वय समितिका प्रमुख राजन मेहता, काँग्रेस जिल्ला सभापति तथा इनरुवाका मेयर केदार भण्डारी, काँग्रेस नेता सिताराम मेहता सहितका नेताहरूले प्रधानमन्त्री दाहाललाई ध्यानाकर्षण पत्र बुझाउँदै अस्पतालको स्थायित्व तथा सञ्चालनको वातावरण बनाइदिन माग गरेका हुन ।
नेताहरूले बुझाएको ध्यानाकर्षण पत्रमा सुनसरीबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद, सक्रिय राजनीति गर्दै आएका अन्य राजनीतिक दलका नेताहरू सहित २० जनाले हस्ताक्षर गरेका छन् ।
नेताहरूको टोलीले आज(शुक्रवार) गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाउँदै अस्पताल सञ्चालनको वातावरण बनाइदिन माग गरेका छन् ।
यस अघि स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतलाई पनि यसै गरी ध्यानाकर्षण पत्र बुझाएको थियो ।
केही दिन अघि काँग्रेस नेतृत्वको टोलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई समेत भेट गरी अस्पतालको बारेमा ध्यानाकर्षण गराएको थियो ।
सुनसरी सदरमुकाम स्थित इनरुवा जिल्ला अस्पतालमा बिरामीको चाप बढी भएको, ठुला खाले शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामीलाई धरान, विराटनगर लगायतका अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता रहेको बुझाइएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
ध्यानाकर्षण पत्रमा भनिएको छ,‘ सबै तहका जनप्रतिनिधि समेतलाई सहभागी गराई प्रदेश प्रहरी अस्पताल इनरुवामा नै स्थापना र सञ्चालन गर्न केही दिनदेखि विभिन्न छलफल र मिटिङ्गहरु बसी अस्पताल सञ्चालनका लागि पूर्वाधारमा विभिन्न पालिकाहरूको आर्थिक सहयोगमा लाखौँ रकम खर्च भइसकेको हुँदा अहिले फेरि उक्त प्रहरी अस्पताल यहाँ वाट अन्यत्र सार्ने चर्चाले हामीलाई एकदमै चिन्तित बनाएको छ ।’
जानकारी गराउँदा पनि अस्पताल अन्यत्र सार्ने प्रयास भए आन्दोलन गर्न बाध्य हुने बुझाइएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
यता, मोरङको बेलबारीमा सञ्चालनमा रहेको अस्पताल रातारात सुनसरी सारिएको भन्दै बेलबारीका राजनीतिक दल तथा त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरूले विरोध जनाएका थिए । उनीहरूले पनि अस्पताल पुनर्स्थापना गर्नुपर्ने माग राख्दै आएका छन् ।