इटहरी । नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले नगर सभा बैठक स्थगित गरेको विषयलाई लिएर नगरप्रमुखले लगाएको आरोपको खण्डन गरेका छन् । 
 नगरप्रमुख हेमकर्ण पौडेलले हिजो बिहीबार पत्रकार सम्मेलन गर्दै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले कामै गर्न नदिएको भन्दै विभिन्न आरोप लगाएका थिए ।  पौडेलले बुधवार बोलाइएको चौधौँ नगर सभा बैठक तयारी नपुगेको भन्दै सहमतीयै स्थगित गरिए पनि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले एकलौटी ढङ्गले स्थगित गरेको भन्दै भ्रम फैल्याएको आरोप लगाएका थिए ।
 त्यसको एक दिन बित्न नपाउँदै उपप्रमुख सहितका जनप्रतिनिधिहरूले आज पत्रकार सम्मेलन गर्दै नगरप्रमुख पौडेलले लगाएको आरोपको खण्डन गर्दै वार्ताको लागि तयार रहेको बताए । 
पत्रकार सम्मेलनमा बोल्दै उपमहानगरपालिकाकी उपप्रमुख सङ्गीता चौधरीले एमालेका जनप्रतिनिधिको सहमतिमा नगर सभा स्थगित गरिएको भन्ने आरोपको खण्डन गरेकी छिन् ।
 नगर सभा स्थगित गर्न एमालेका जनप्रतिनिधिको कुनै सहमति नगरेको पनि उपमेयर चौधरीले स्पष्ट पारिन् । 
पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमाले संसदीय दलका उपनेता प्रमोद शेर्पाले स्थगित गरिएको नगर सभा सञ्चालन गर्न माग गरेका छन् । कर, राजश्व तथा अन्य विषयमा देखिएको विवाद वार्ताको माध्यमबाट समाधान गर्न पनि उनले आग्रह गरेका छन् । 
उपनेता शेर्पाले आफूहरू समस्या समाधान गर्न र जनताको माग सम्बोधन गर्न वार्ता गर्न तयार रहेको बताएका छन् । 
उपनेता प्रमोद शेर्पाले भने,‘ स्थगित गरिएको सभा तुरुन्त बोलाइयोस्, तुरुन्त वार्ताको लागि बोलाइयोस्, हामी राती १२ बजे सम्म पनि वार्ता गर्न तयार छौँ ।जनताको माग तुरुन्त सम्बोधन गर्नुपर्छ । ’
 इटहरी उपमहानगर कार्यपालिकामा ३० जना कार्यपालिका सदस्यमध्ये उपप्रमुख सहित २४ जना एमालेबाट निर्वाचित सदस्य छन् भने प्रमुख सहित ६ जना नेपाली काँग्रेसबाट निर्वाचित सदस्य छन् । यस्तै १०४ जना नगर सभा सदस्यमध्ये ८३ जना एमालेबाट निर्वाचित रहेका छन् भने २१ जना मात्र नेपाली काँग्रेसबाट निर्वाचित सदस्य रहेका छन् ।