विराटनगर । झापाको काँकड्भिट्टादेखि सुनसरीको रामधुनीसम्म एसियन हाइवे मापदण्डको सडक निर्माणको प्रक्रिया शुरु भएको छ । ९६ किलोमिटर सडक निर्माणका ३ वटा खण्डमा ठेक्का लागेको छ । यस्तै सो सडकमा पर्ने पुल निर्माणका लागि पनि ठेक्का लागि काम शुरु भएको हो । 

काँकड भिट्टा लौकही सडक आयोजनाका इटहरी प्रमुख जगत प्रजापतिका अनुसार काँकड्भिट्टा देखि ४५ किलोमिटर पश्चिमसम्मका पूर्वी खण्ड, ४५ किलोमिटर देखि ४५ किलोमिटर पूर्वी खण्ड र ८५ देखि ९७ किलोमिटर सम्म इटहरी खण्ड भनेर ठेक्का लागेको छ । 

३ बर्षमा काम सम्पन्न गरिसक्नु पर्नेगरि सडकको तीन खण्ड र ३ सय मिटर भन्दा लामा पुल बनाउनका लागि अर्को ठेक्का लागेको प्रजापतिले जानकारी दिए । 

काँकरभिट्टाबाट लौकहीसम्मको १ सय २० किलोमिटर सडक निर्माण गर्नु पर्ने भएपनि बजेट अभाबका कारण पुरै सडक र पुलको ठेक्का लाग्न सकेको छैन । 

एसियाली विकास बैकको आर्थीक सहयोगमा निर्माण हुने सडकको ठेक्का लागेपनि ठेकेदार कम्पनीलाई मोवीलाइजेसन खर्च भने उपलब्ध गराइनसकेकाले समय सिमाको काउन डाउन भने शुरु भइनसकेको प्रजापतिले जानकारी दिए । 

पूर्वी खण्डको ठेक्का अजरबैजानको कम्पनी युरो एशियसन कन्ट्रक्सन कर्पोरेशले पाएको छ । उसलाई १० अर्व रुपैयाँमा ४५किलोमिटर सडक निर्माणको काम गर्नेगरि ठेक्का दिइएको एडीवी आयोजना निर्देशनालयका सूचना अधिकारी विजयकुमार महतोले जानकारी दिए । 

अजरबैजानको कम्पनीसँग कालीका कन्ट्रक्सनको ज्वाइन्ट भेन्चर रहेको छ । यस्तै पूर्वी खण्डका लागि भने चाइना रेलवे फस्ट ग्रुपले ठेक्का पाएको छ । जसको लागत ९ अर्व १३ करोड रुपैयाँ रहेको छ । 

चाइना कम्पनी फस्ट ग्रुपसँग नेपाली कम्पनी तोदी कन्सट्रक्सनको ज्वाइन्ट भेन्चर रहेको छ। यस्तै ८५ किलोमिटर देखि ९७ किलोमिटर सम्मको इटहरी खण्डका लागि भने चाइना ओभरसिज  इन्जिनियरीङ्ग ग्रुप लिमिटेडले ठेक्का पाएको छ । 

सो कम्पनीसँगको ज्वाइन्ट भेन्चरपनि तोदी कन्ट्रक्सन रहेको सुचना अधिकारी महतोले जानकारी दिए । १२ किलोमिटर सडक र ३ सय मिटर भन्दा छोटा पुल निर्माणका लागि ४ अर्व ७ करोड रुपैयाँमा ठेक्का लागेको महतोले बताए । 

उनका अनुसार पूर्वी र इटहरी खण्डमा पर्ने खोलाहरुको पूल निर्माणको काम सम्झौता भएका कम्पनीहरुले गर्नु पर्नेछ ।

३ सय मिटर भन्दा लामा पुल निर्माणका लागि भने चाइना रेल्वे ग्रुप २ र युरो एशियन कन्ट्रक्सन कर्पोरेशनले ठेक्का पाएको छ । 

महतोको अनुसार सोही कम्पनीलाई निन्दा, विरिङ, कन्काई,रतुवा, बक्राहा र लोहन्द्रा पुल निर्माणको अर्को ठेक्का लागेको छ। यी छ वटा पुल तीन सय मिटरभन्दा लामा छन्। यसको लागत ६ अर्बको रहेको छ । 

ठेक्का सम्झौता भएका कम्पनीले तीन बर्ष भित्रमा काम सम्पन्न गरिसक्नु पर्ने छ । काँकड्भिट्टा लौकही सडक आयोजना इटहरीका प्रमुख जगत प्रजापतिले ठेक्का लागि सकेको भएपनि अहिले सम्म ठेकेदार कम्पनीहरुले मोवीलाइजेशन वापतको रकम लगि नसकेको बताए । 

उनले भने, ‘अहिले प्रारम्भीक चरणको काम शुरु भएको छ । कन्सलटेन्टले रिर्पोट दिइ नसकेकाले काम गर्ने कम्निस लेटर दिइएको छैन । लेटर दिएपछि काम सम्पन्न गर्ने समय शुरु हुन्छ ।’

यस्तो बन्ने छ एसियन मापदण्डको सडक 

काँकड् भिट्टादेखि लौकही सम्मको सडक एशियन हाइवे मापदण्डको हुने छ । यो सडक निर्माणका लागि एशियाली विकास बैक ( एडीवी) ले सहुलियत ऋण दिएको छ । एसियाली राष्ट्रबीच व्यपार प्रवर्द्धन, आयात निर्यात बढाउन र पर्यटक चलायमान गराउने उद्देश्यसहित यो सडक निर्माणको काम शुरु भएको हो । 

राष्ट्रसंघको पहलमा सडक विस्तार सुरु गरिएको एसियन हाइवे नेटवर्क कार्यक्रममा नेपाल सहभागि भएपछि  एशियन हाइवे मापदण्डको सडक निर्माणको काम शुरु भएको हो । तीन वटा मापदण्डमा बन्ने सडकमा शहरी क्षेत्रमा विच सडकको दायाँ बायाँ ५० मिटर बाहेक दायाँ बायाँ नै २ लेनको सर्भीस सडक बन्ने छ ।

विचको ४ लेनमा द्रुत मार्गको हुने र यसको मापदण्ड न्यूनतम १०० किलोमिटर पर आवरको हुने छ । इटहरी दमक, विर्तामोड लगायतका सहरमा विच भागबाट ५० मिटर बाहेक पनि दुवै तर्फ दुई लेनको सडक बन्ने छ । फुटपाथ र ड्रेन समेत बनाउनु पर्ने भएकाले सडकको को राइट अफ वे सवै उपयोग हुने छ । एडिवी आयोजना निर्देशनालयले जनाएको छ । 

ग्रामिण  शहरी क्षेत्रमा विच सडकबाट दायाँ बायाँ ५० मिटर बाहेक दुवै तिर साँढे ३ मिटरको सडक बन्ने छ । सडकको दायाँ बायाँ, फुटपाथ साइकल लेन र ड्रेन बन्ने छ 

जङ्गल क्षेत्रमा भने ४ लेनको सडक बन्ने छ । जंगल क्षेत्रमा भने जंगली जनवारहरुलाई आवत जावतमा सजिलो हुने गरि बनाइने आयोजनाले जनाएको छ ।