इटहरी । इटहरी उप महानगरपालिकाका ३६ जना नगर प्रहरी दीक्षित भएका छन् । ३५ दिन सम्म चलेको तालिम दिएका नगर प्रहरीलाई उपमहानगरले आज दीक्षित गरेको हो ।
दीक्षान्त समारोहमा नगर प्रहरीहरूले राष्ट्रिय सलामी अर्पणसहित कवाज समेत प्रदर्शन गरेका थिए । नगर प्रहरीलाई दिक्षान्त समाहारोमा दर्जेनी चिन्ह प्रदान गरेको छ । उनीहरूलाई इटहरी उप महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहेताले शपथ गराएका छन्।
तालिमको पहिलो चरणमा नगर प्रहरी परिचय तथा मूल्य शिक्षा र संविधान तथा ऐन नियम, दोस्रो चरणमा सुरक्षा तथा नगर प्रहरी कार्य र भिड व्यवस्थापन र तेस्रो चरणमा स्थानीय निकायको काम कर्तव्य र अधिकारका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।
नगर प्रहरीलाई दज्र्यानी चिन्ह प्रदान गर्दै उप महानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले नयाँ नगर प्रहरीहरूको आवागमनले नगर प्रहरी थप सशक्त बनेको बताएका छन् । जनशक्तिका हिसाबले नगर प्रहरीको संख्या बढ्नुका साथै समग्र इटहरी उप महानगरपालिकाको सुव्यवस्थामा समेत सहयोग पुग्ने उनले विश्वास व्यक्त गरेका छन् ।
उपमहानगर प्रमुख पौडेलले बजार व्यवस्थापनमा नगर प्रहरीको भूमिका अझ सशक्त बनाएर लैजान पनि निर्देशन समेत दिए । जुनसुकै काम कर्तव्य गर्दा व्यक्तिलाई नभएर विधिलाई मान्न निर्देशन दिएका छन् ।
नगर प्रहरीलाई उप महानगरपालिकाको सम्पत्तिको सुरक्षा र संरक्षण, उप महानगरमा हुने विभिन्न सभा समारोह, स्थानीय जात्रापर्वहरूको सुरक्षा व्यवस्थापन, उपमहानगर क्षेत्रको पार्किङ स्थलको रेखदेख तथा व्यवस्थापन, सरसफाइ सम्बन्धी मापदण्डको कार्यान्वयन, न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयको कार्यान्वयन, सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण, विपद् व्यवस्थापन, छाडा पशुको नियन्त्रण, अनधिकृत निर्माणमा रोक लगायतका जिम्मेवारीहरू तोकिएका छन् ।
उप महानगरपालिका नगर कार्यपालिकाको कार्यालय पदपूर्ति समितिको निर्णयअनुसार नगर प्रहरीका विभिन्न पदमा सेवा करारका लागि उपमहानगरपालिकाले गत २०७९ असोज २१ गते इन्स्पेक्टर सहित दुइ सई, ३ जना असई , ४ जना हवल्दार सहित २७ जना नगर प्रहरी जवानका लागि दरखास्त आह्वान गरेको थियो ।
नगर प्रहरी दीक्षित कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य इटहरी उप–महानगरपालिकाकी उपप्रमुख संगिता चौधरी, प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहेता , सुनसरीका प्रहरी प्रमुख बिपिन रेग्मी, शसस्त्र प्रहरीका एसपी लकेस तुम्हाङ्फे लगायतको उपस्थिती रहेको थियो ।