सुनसरी । धरानका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर टाँस्न अस्वीकार गरेका छन् ।
धरानका राजनीतिक दलका भातृ सङ्गठनका नेताहरू आज मेयरको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर टाँस्न पुगेको थिए । तस्बिर टाँस्न पुगेका राजनीतिक दलका नेताले ३ दिन भित्र राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर टाँस्न अल्टिमेटम दिएका छन् ।
धरानका मेयर हर्क साम्पाङ र राजनीतिक दल तथा तिनका भ्रातृ सङ्गठनबिच भएको वार्ता विफल भएपछि राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर नटाँसी दलहरू फर्किएका छन् ।
३ दिनको अल्टिमेटम दिँदै भ्रातृ सङ्गठनका नेता तथा कार्यकर्ता फर्किएका हुन् । उनीहरूले ३ दिन भित्रमा मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर नराखे आफैँ आएर टाँस्ने चेतावनी दिएका छन् । युवा सङ्घ सुनसरीका उपाध्यक्ष प्रमोज्ञ भट्टराईले ३ दिनको अल्टिमेटम दिएर फर्किएको बताए ।
मेयर साम्पाङले केही दिन अघि आफ्नो कार्यकक्षमा रहेको राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएपछि आज विभिन्न राजनीतिक दलका युवा तथा भ्रातृ सङ्गठनका कार्यकर्ता मेयर हर्क साम्पाङको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्न गएका थिए । फोटो राख्न उपमहानगरपालिका मा भ्रातृ सङ्गठनका कार्यकर्ता पुगेपछि परिसरमा तनाव बढेको थियो ।
तनाव भएपछि मेयर साम्पङसँग वार्ता भएको थियो । वार्तामा मेयर साम्पङले प्रधानमन्त्री बोलाउनु पर्ने अडान राखेपछि वार्ता भाँडिएको हो ।
काँग्रेस, एमाले, माओवादीलगायत दलका युवा तथा विद्यार्थी सङ्गठनका कार्यकर्ता राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फोटो लिएर उपमहानगरपालिका पुगेका थिए । परिस्थिति असहज हुनसक्ने भन्दै प्रहरीले आफूहरूलाई रोकेको राष्ट्रिय युवा सङ्घ नेपालका कोसी अध्यक्ष अरुण गुरुङले बताए ।
अहिले प्रहरीले हर्क साम्पाङसहित समर्थक र तस्बिर लिएर गएका कार्यकर्ताका प्रतिनिधिलाई सँगै राखेर छलफल गराइरहेको छ ।
केही दिनअघि धरानलाई स्वतन्त्र राज्य बनाउने धम्की दिँदै हर्कले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएका थिए । उनले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाउँदै किराँती राजा यलम्बरको फोटो टाँगेका छन् ।।