विराटनगर । मोरङकी दीपा विष्ट भारतको हैदरावादमा भएको १०औँ वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एन्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटल जित्न सफल भएकी छन् । उनलाई विराटनगरमा  सम्मानित गरिएको छ ।

मोरङको सुन्दरहरैंचा–११ की विष्टले हैदरावादस्थित लाल बहादुर शास्त्री रङ्गशालामा पुस २ देखि ५ गतेसम्म आयोजित च्याम्पियनसिपमा ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटल जित्न सफल भएकी थिइन्। 
महिलातर्फ ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटल जित्न सफल भएकी विष्टले तीन वटा तौल समूहका सबै प्रतिस्पर्धामा आफ्ना अघिल्ला रेकर्डहरू समेत तोड्न सफल भएकी थिइन् । अहिलेसम्म कुनै पनि देशका प्रतिस्पर्धीले उचाल्न नसकेको ९० केजी तौल उठाएर नेपाललाई गोल्ड मेडल सहितको उपाधि दिलाएकी हुन् । 

युरोप,अमेरिका र एसियाका १६ वटा देशका महिला प्रतिष्पर्धीहरुलाई पछि पार्दै महिलातर्फ गोल्ड मेडलसहित ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटल जितेकी हुन् ।

मोरङ स्टे«न्थलिफ्टिङ एशोसिएशनको आयोजनामा बिस्टसहित सोही प्रतियोगितामा सिल्भर मेडल प्राप्त गर्न सफल सुनसरीका कबीर भगत प्रधानाङ्गलाई समेत सम्मानित गरिएको हो । एसोसिएसनका अध्यक्ष नवनीतराज प्रधानले खेलाडीहरू विष्ट र प्रधानाङ्गलाई सम्मान पत्र र खादाले सम्मानित गरेका हुन् ।  नेपालमा स्ट्रेन्थलिफ्टिङ एन्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) भर्खरै अघि बढेको खेलका रूपमा चिनिन्छ । 
अहिलेसम्मका अन्तर्राष्ट्रिय प्रतिष्पर्धाहरुमा आफ्नै स्रोत साधन र खर्च जुटाएर खेल्दै आएको नेपाली टोलीले सरकारहरूबाट सहयोग नपाइएको जनाइएको छ ।
हालसम्म ४४ वटा जिल्लाहरूमा एशोसिएन गठन गरेर स्ट्रेन्थलिफ्टिङ एन्ड इन्क्लाइन बेन्च प्रेस खेललाई अघि बढाउने प्रयास गरिरहेको भए पनि सरकारले खेलाडीहरूलाई गर्नुपर्ने आवश्यक प्रोत्साहन गर्न नसकेको सुनसरी स्ट्रेन्थलिफ्टिङ एसोसिएसनका सचिव विजयसिंह थेबेले गुनासो गरे ।
खेलाडीहरूले लगातार आफ्नो खर्चमा गएर देशका लागि मेडल प्राप्त गरेर देशको नाम उचा बनाएको भए पनि तीन तहका सरकारहरूले उनीहरूलाई प्रोत्साहनसम्म पनि गर्न नसकेको दुखेसो पोखे ।
सुन्दरहरैंचाकी विष्टले २०७९ भदौ २० मा किर्गिस्तानमा सम्पन्न भएको अन्तर्राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ एन्ड इन्क्लाइन बेन्च प्रेस (आईबीपी) च्याम्पियनमा पनि आईबीपीतर्फ सिनियर समूह अन्तरगत ७२ केजी उचालेर स्वर्ण पदक दिलाएकी थिइन् । सोही प्रतियोगितामा उनले स्ट्रेन्थलिफ्टिङमा रजत पदक जितेकी थिइन् ।
उनले प्राप्त गरेको स्वर्ण पदकले नेपालमा स्ट्रेन्थलिफ्टिङ एन्ड आईबीपी खेललाई अन्तर्राष्ट्रियकरण गर्न त्यति बेला महत्त्वपूर्ण योगदान गरेको थियो । दीपाले यस पटक पनि आइबीपीतर्फ सबैभन्दा ठुलो उपाधि हात पारिन् । तर उनी प्रदेश सरकारले बर्सेनि गर्ने खेलाडी सम्मानमा भने सरकारको नजरमा पर्न सकेकी छैनन् ।
आइबीपीमा अहिलेसम्म ७२ दशमलव ५ केजी माथिको तौलमा अन्तर्राष्ट्रिय रेकर्ड नरहेको जानकारी दिँदै उनले ९० केजी उचालेर कीर्तिमान कायम गरेकी हुन् ।
इन्क्लाइन बेन्च प्रेस (आइबीपी) खेल जिम तथा फिटनेस क्लबहरूमा छातीको शारीरिक अभ्यास गर्दा प्रयोग गरिने इन्क्लाइन बेन्च प्रेसमै करिब ३५ डिग्रीमा उत्तानो सुतेर दुवै हातले तौललाई माथि उचाल्ने क्षमता प्रदर्शन गरिने खेल हो । यो खेलमा प्रतिस्पर्धामा उत्रिने खेलाडीले आफूले उठाउने तौललाई शरीरको पछाडिबाट उठाउनु पर्ने नियम रहेको छ । तौल उठाउनुअघि ३ सेकेन्डसम्म छातीमा अड्याउनु पर्ने र त्यसपछि मात्रै तौल उचाल्नुपर्ने र बिस्तारै तौललाई राख्नुपर्ने भएकोले निकै कठिन खेल रहेको सिल्भर मेडलप्राप्त खेलाडी कबीर भगत प्रधानाङ्गले बताए । 
‘हामीले आफ्नो प्रयासमा देशको नाम राख्दै आएका छौँ, यो खेललाई छोटो समयमै लोकप्रिय बनाएका छौँ’ सुनसरी स्टे«न्थलिफ्टिङ एसोसिएसनका अध्यक्ष समेत रहेको प्रधानाङ्गले भने, ‘खेलकुद मन्त्रीले १०औँ राष्ट्रिय खेलकुदमा पनि यो खेललाई समेट्ने प्रतिबद्धता जनाउनु भएकोले केही आशावादी भएका छौँ ।’ उनले कोशी प्रदेश सरकारले भने अन्तर्राष्ट्रिय मेडल प्राप्त गर्दा समेत अहिलेसम्म खेलाडीहरूलाई नसम्झिएको भन्दै गुनासो गरे ।