विराटनगर । धरान उत्सवको उद्घाटनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित नहुने भएपछि प्रमुख अतिथि बिनै धरान उत्सवको उद्घाटन हुने भएको छ । धरान स्थापनाको अवसरमा पुस २० गते देखि २४ गते सम्म विभिन्न कार्यक्रम गरेर धरान उत्सव मनाउने तयारी भएको हो । धरान स्थापना दिवसको अवसर पारेर सुरु गर्न लागिएको धरान उत्सवको उद्घाटन कार्यक्रममा धरानका मेयर हर्क साम्पाङ्गले प्रमुख अतिथिको रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई निमन्त्रण गरेका थिए । प्रधानमन्त्रीले समय उपलब्ध नगराएपछि साम्पाङ्गले आफ्नो कार्यकक्षमा राखिएको प्रधानमन्त्री र राष्ट्रपतिको तस्बिर हटाएका थिए । धरानका मेयर साम्पाङ्गले प्रधानमन्त्रीले आफूलाई अपमान गरेकाले तस्बिर हटाएको बताउँदै आएका छन् ।
तस्बिर हटाए पछि तस्बिर राख्न गएका दलका भातृ सङ्गठनका नेता तथा कार्यकर्ताहरूलाई प्रहरीले रोकेपछि भएको वार्तामा समेत साम्पाङ्गले प्रधानमन्त्रीलाई बोलाए तश्व्रि राख्ने बताएका थिए ।
धरान उत्सवका लागि मङ्सिरको १७ गतेबाटै तयारी थालिएको बुधवार भएको पत्रकार सम्मेलनमा मेयर हर्क साम्पाङ्गले बताए । उनले उत्सव उद्घाटनको अवसर पारेर पुस १९ गते नै सरसफाइ आयोजना गरिने बताए । उनले भोटे पुलमा रहेका हिमालयन पेट्रोल पम्पदेखि तिन कुने सम्म सरसफाइ गरिने बताए ।
धरान उत्सव भने पुस २० गते नै उद्घाटन गरिने मेयर साम्पाङ्गले बताए । उनले सो अवसरमा र्याली आयोजना गरिने बताए । २१ गते साइक्लिङको आयोजना गरिने, साहित्यिक सम्मान गर्ने कार्यक्रम तय भएको साम्पाङ्गले बताए । उनले पुस २२ गते वाकथन र विद्यालय स्तरीय खेलकुद प्रतियोगिता आयोजना गरिने बताए । धरान उत्सवको अवसरमा लोकदोहोरी प्रतियोगिता र लगानी गोष्ठी समेत आयोजना गरिने तयारी भएको छ ।
उत्सवका बारेमा आवश्यक छलफल र तयारी नभएको भन्दै धरानमा मेयर साङ्गोपाङ्ग विरोध भइरहेको छ । धरानका उप प्रमुख आइन्द्र विक्रम बेघाले आवश्यक तयारीका विषयमा आफूलाई नभई मेयर सोध्न आग्रह गरे । उनले भने, को प्रमुख अतिथि आउनु हुन्छ रु उहाँलाई थाहा छ । हामी धरान उत्सव मनाउने विषयमा भने एक भएको बताए ।