सुनसरी । सुनसरीका एक व्यक्ति नगद २१ लाख ५७ हजार रुपैँया सहित पक्राउ परेका छन् ।
सशस्त्र प्रहरीले स्रोत नखुलेको रकम सहित सुनसरी भोक्राहा नरसिंह गाउँपालिका ६बाट वीरेन्द्र कुमार राउतलाई पक्राउ गरेको हो । पक्राउ परेका राउत कोशी गाउँपालिका ३ का बासिन्दा रहेको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट लौकहीबाट खटिएको टोलीले राउतको साथबाट स्रोत नखुलेको उक्त रकम सहित पक्राउ गरेको सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रवक्ता एसएसपी रविनराज कर्णजीतले जानकारी दिएका छन् ।
प्रदेश १–०२–०५३ प १९५६ नम्बरको मोटरमाइकलमा इनरुवातर्फ गइरहेका राउतलाई खानतलासी गर्दा अवैध रकम बरामद भएको प्रहरीले बताएको छ । साथमा भएको रकमको स्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ गरिएको प्रवक्ता कर्णजीतले जानकारी दिए ।
सशस्त्रले बरामद भएको रकम र मोटरसाइकलसहित राउतलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ ।