विराटनगर । यस आर्थिक वर्षमा कोशी प्रदेश सरकारको १ अर्ब ६४ करोड ६३ लाख १२ हजार बेरुजु देखिएको छ । कोशी प्रदेश लेखा नियन्त्रक दामोदर खत्रीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महालेखा परीक्षकको कार्यालयले बिहीबार आयोजना गरेको लेखा परीक्षण, बेरुजु फर्छ्यौट तथा सम्परीक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरेका हुन् ।
उनका अनुसार असुल गर्नु पर्ने बेरुजु २० प्रतिशत, नियमित गर्नुपर्ने बेरुजु ७२ प्रतिशत र यसमा पनि प्रमाण कागजात पेस गर्नुपर्ने ४६ प्रतिशत रहेको छ । प्रदेश लेखा नियन्त्रक खत्रीले कोशी प्रदेशमा लेखा परीक्षक कार्यालय मातहत कर्मचारीको दरबन्दी अनुसार पदपूर्ति नहुँदा समस्या भएको बताएका छन् । अहिले २२१ जनाको कर्मचारी दरबन्दीमा ८० जनाको दरबन्दी रिक्त रहेको । उनले ‘बेरुजु जुन शाखाको काममा भएको छ त्यसले फर्छ्यौट गर्नुपर्ने हुन्छ, यहाँ त बेरुजु आएपछि लेखालाई मात्रै जिम्मेवार बनाइन्छ, उनले भने, ‘बेरुजु फर्छ्यौटमा जुनसुकै कार्यालयको सबै जिम्मेवार शाखाले आ–आफ्ना दायित्व निर्वाह गर्नुपर्छ ।’
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा देखिएको बेरुजु कसैले खाएर भागेको नभई बेवास्ता गरेर भएको बताए । उनले ‘नियम कानुन मानेर काम नगर्ने हो भने वित्तीय अनुशासन कायम नहुने बताए । मुख्यमन्त्री कार्कीले भने,प्रदेशमा वित्तीय अनुशासन कायम गर्नका लागि आफूले ढुङ्गाको मुटु बनाएको छु । सबैले यसरी नै काम गर्नुको विकल्प छैन ।
उनले ‘ऋण मुक्त प्रदसे बनाउन हिम्मतका साथ ऋणमा डुबेको प्रदेश सकारको नेतृत्व लिएको बताए । उनले भने, वित्तीय उत्तरदायित्व निर्वाह गर्ने गरी काम गर्न हरेक मन्त्रालयमा निर्देशन दिएको छु यो विषयमा कसैले कुनै प्रश्न उठाएर कुनै किसिमको बहानाबाजी गर्ने छुट पाउँदैन ।’