इटहरी । त्रिभुवन विश्वविद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्नुपर्ने भन्दै नेपाल विद्यार्थी सङ्घ सुनसरीले प्रधानमन्त्रीलाई पत्र लेखेको छ ।  
 नेविसंघ सुनसरीले विश्वविद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्तिका लागि दबाब दिन प्रधानमन्त्रीलाई लेखेको पत्र प्रमुख जिल्ला अधिकारी मार्फत पठाएको छ । 
नेविसंघले विभिन्न क्याम्पसका विद्यार्थीहरूले प्रधानमन्त्रीलाई लेखेको पत्र सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई हस्तान्तरण गरेका छन् । 
शुक्रवार नेविसंघ जिल्ला सभापति प्रमोद भट्टराई सहितका विद्यार्थीहरूले आफूहरूले लेखेको पत्र प्रधानमन्त्रीलाई बुझाइदिन भन्दै हस्तान्तरण गरेका हुन । 
त्रिभुवन विश्वविद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति गर्नुपर्ने माग राख्दै नेविसंघ सुनसरीले त्रिविका आङ्गिक तथा सामुदायिक क्याम्पसहरूमा प्रधानमन्त्रीलाई पत्र लेख्ने अभियान चलाएको थियो । 
सोही अभियान अन्तर्गत विभिन्न क्याम्पसबाट सङ्कलन भएका पत्रहरू प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको नेविसंघ सुनसरीका जिल्ला सभापति प्रमोद भट्टराईले जानकारी दिए । 
NSU (1)
‘त्रिविको उपकुलपतिका लागि विज्ञापन गर्दै प्रस्ताव माग गरेको छ । तर त्यसका केही प्रावधानले फेरी त्रिवि भित्रकै व्यक्तिलाई छनौट गर्ने प्रयास गरेको देखिन्छ । यसमा हाम्रो असहमति र आपत्ति छ । त्यो सच्याएर खुल्ला प्रतिस्पर्धाबाट उपयुक्त र योग्य व्यक्ति छनौट गर्नुपर्छ’ नेविसंघ सभापति भट्टराईले भने । 
नेविसंघले सुनसरीका महेन्द्र बहुमुखी क्याम्पस धरान, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरान, जनता बहुमुखी क्याम्पस इटहरी, सुनसरी बहुमुखी क्याम्पस इनरुवा र सप्तकोसी बहुमुखी क्याम्पस बराहक्षेत्रबाट प्रधानमन्त्रीको नाममा ८ सय पत्र सङ्कलन गरेको सभापति भट्टराईले जानकारी दिए ।