विराटनगर । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश र कृषि उद्यम केन्द्रको आयोजनामा दुग्ध उत्पादक व्यवसायीहरू बिच कृषि उपजका मूल्य श्रृखंलाका पात्रहरू बिच व्यावसायिक सम्बन्ध स्थापना गर्ने सहमति भएको छ । साम्य इन्टिग्रेटेड कृषि फर्म तीन टोलियामा सम्पन्न कार्यक्रममा  तुलागंगा कृषि फर्मका सञ्चालक विष्णु प्रसाद दुलालले दुग्ध उत्पादक कृषकहरूले दूध उत्पादनको उचित मूल्य नपाएको बताए । 
ग्रिन यार्ड कृषि फर्म प्रा.लि.का सञ्चालक विज्ञान बस्नेतले डेरी उद्योगले बजारीकरणको रणनीति बनाए अहिले देखिएको समस्या समाधान हुनसक्ने बताए ।  ‘लगानी अनुसार राज्यले पनि सहयोगको नीति लिनु पर्छ, उनले भने, दुग्धजन्य उत्पादनको विषयलाई प्राथमिकतामा राख्न सक्नुपर्छ ।’ कोशी गौमाता कृषि फर्मका सञ्चालक मदन ढकाल, ढुङ्गेल कृषि फर्मका सञ्चालक सरोज ढुङ्गेलले उत्पादकको तर्फबाट दूध बिक्रीको सुनिश्चितता हुनुपर्ने व्यवस्थाका लागि सरकारले आयातित पाउडर निरुत्साहित गर्नुपर्नेमा जोड दिए । 
साम्य इन्टिग्रेटेड कृषि फर्मका सञ्चालक सन्जोग सिवाकोटीले कृषि उपजको बजारीकरणमा कृषकको क्षमता विकास गर्नुपर्ने बताए ।  सूर्योदय मिल्क एन्ड बेभरेजका सञ्चालक गुरुप्रसाद अधिकारीले अहिले दुग्धजन्य पदार्थको बिक्रीमै कमी आएको उल्लेख गरे ।  डेरी उद्योग सङ्कटबाट गुज्रिरहेको अवस्थामा सरकारले व्यवसायीहरूको ऋणको ब्याजमा सहुलियत दिनुपर्ने उनको माग छ ।  ‘अहिलेको सङ्कटमा पनि हामीले दूध खरिद र कृषकहरूको भुक्तानी समयमा नै गरिरहेका  छौँ, उनले भने, यस्तो अवस्थामा पनि राज्यको तर्फबाट खासै चासो गएको पाइँदैन ।’

कार्यक्रममा गोकुल डेरीका सञ्चालक जीवछ यादव, जीवन विकास डेरीका अरुण राय  लगायत सहभागी थिए ।  कार्यक्रममा दुग्ध उत्पादक र डेरी सञ्चालकहरू सहित करिब ३० जनाको सहभागिता  रहेको नेपाल उद्योग वाणिज्य महासङ्घ कोशीका कार्यकारी निर्देशक श्याम भण्डारीले जानकारी दिए ।