इटहरी । इटहरी अस्पतालले दिने सेवा प्रवाहमा सुधार आएको छ । पछिल्लो एक वर्ष देखी इटहरी अस्पतालमा  डाक्टर नियमित रूपमा अस्पतालमा बस्न थालेपछि सेवा प्रवाहमा सुधार आएको हो । 

अस्पतालमा डाक्टरहरू बस्न थालेसँगै बिरामीको चाप बढेको छ ।  इटहरी अस्पतालमा अहिले दैनिक रूपमा हाड जोर्नी, महिला तथा स्त्री रोग विशेषज्ञ र बाल रोग विशेषज्ञले बिरामीको उपचार गराई रहेका छन् । यो बाहेक इटहरी अस्पतालमा एमबिबिएस डाक्टरले समेत अस्पतालमा सेवा दिँदै आएका छन्  । 

अस्पतालमा हाड जोर्नी,महिला तथा स्त्री रोग विशेषज्ञ र बाल रोगका डाक्टरहरूले नियमित रूपमा स्वास्थ्य सेवा दिई रहेको इटहरी अस्पतालका मे.सु गुन्जन त्रितालले जानकारी दिए । 

‘हाड जोर्नी  डाक्टरले बिहान १० बजे देखी ४ बजे सम्म, महिला तथा स्त्री रोग विशेषज्ञ २ जना महिला डाक्टर हुनुहुन्छ, एक जना बिहान १० देखी २ बजे सम्म र अर्को डाक्टर चाहिँ १० देखी ४ बजे सम्म नै बसेर सेवा दिनुहुन्छ,’ मे.सु त्रितालले भने ‘अर्को बाल रोग विशेषज्ञ डाक्टरले पनि बिहान १० देखी ४ बजे सम्म नै सेवा दिनुहुन्छ । त्यसपछि अरू एमबिबिएस डाक्टरहरूले अन्य प्रकारका बिरामीलाई चेकजाँच गर्नुहुन्छ ।’

योसँगै इटहरी अस्पतालमा मुटु रोग विशेषज्ञ, मिर्गौला रोग विशेषज्ञ डाक्टर ल्याएर सेवा विस्तार गर्ने योजना रहेको मे.सु त्रितालले जानकारी दिए । 
‘मुटु र मिर्गौला रोग विशेषज्ञ डाक्टरहरूलाई पनि ल्याएर सेवा विस्तार गर्ने तयारी भइरहेको छ, पार्किङ एरियाको ठाउँलाई व्यवस्थापन गरी कोठा मिलाउने काम भएपछि सेवा सुरु गर्ने तयारी गर्दै छौँ,’ मे.सु गुन्जन त्रितालले जानकारी दिए । 

 

इटहरी अस्पतालले सेवा विस्तार गरेसँगै उपचारका लागि आउने बिरामीहरूको चाप बढ्न थालेको छ । पछिल्लो एक वर्ष यता नियमित रूपमा विशेषज्ञ डाक्टरहरूले स्वास्थ्य चेकजाँच गर्न थाले पछि इटहरी अस्पतालमा उपचारका लागि आउने बिरामीहरूको चाप बढेको हो । 
विशेषज्ञ डाक्टरको सेवा लिन चाहनेहरू पनि इटहरी अस्पताल आउन थालेका छन् । सामान्य प्रकृतिका स्वास्थ्य समस्या भएका बिरामीहरूको ठुलो भिड नै लाग्न थालेको छ । 
ज्वरो आउने, रुघाखोकी, पखाला लाग्ने , पेट दुख्ने, ढाड दुख्ने जस्ता सामान्य प्रकृतिका स्वास्थ्य सेवा लिन पनि बजारका निजी क्लिनिकहरूमा जानुपर्ने बाध्यता अहिले अन्त्य भएको छन् ।

ल्याब परीक्षणमा उस्तै छ भिड, सुधार हुँदै व्यवस्थापन 

इटहरी अस्पतालमा परीक्षणका लागि आउने बिरामीको सङ्ख्या अत्यधिक रूपले बढेको अस्पताल प्रशासनले बताएको छ । विशेष गरी रगत जाँच गर्ने, एक्स रे गर्ने, भिडियो एक्स रे, इसिजी गर्ने बिरामीहरूको सङ्ख्या बढेको छ । 

नियमित स्वास्थ्य समस्या लिएर आउने बिरामीको रोग पहिचानका लागि गरिने रगत,पिसाब,एक्स रे, भिडियो एक्स रे का भन्दा बाहिर सुगर जाँच, भिटामिन डि,थाईराईड लगायतका चेकजाँच गर्न इटहरी अस्पताल पुग्ने गरेका छन् । 

सुगर प्रेसका बिरामीलाई इटहरी अस्पतालको रगत जाँच सेवाले सहज बनाइदिएको छ । सुगरका बिरामीहरू नियमित गर्नुपर्ने रगत जाँचका लागि इटहरी अस्पतालको ल्याबमा पुग्ने गरेका छन् । 
इटहरी प्रशासनले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको मङ्सिर सम्मको तथ्याङ्क अनुसार १२, हजार ७६९ जनाले सुगर जाँच गराएका छन् । 
५ हजार ६८९ जनाले थाईराईड जाँच गराएका छन् भने २ हजार ८६१ जनाले भिटामिन डिको जाँच गराएका छन् । 

विशेष गरी सुगर प्रेसर भएका ज्येष्ठ नागरिकहरू सहज सेवाका लागि जाँचका लागि इटहरी अस्पताल जाने गरेका छन् । 
इटहरी ९का लालु बस्नेतले नियमित रूपमा रगत जाँच गर्नका लागि आउने गरेको बताए ।

पहिलो बजारको क्लिनिकमा जाने गरेकोमा अहिले इटहरी अस्पतालमा नै सजिलो भएकाले इटहरी अस्पताल नै आउने गरेको बताए । 
वीमाका कारण पनि धेरै व्यक्तिहरू स्वास्थ्य परीक्षणका लागि आउने गरेको इटहरी अस्पतालकी प्रशासन शाखाकी पूजा भट्टराईले जानकारी दिइन । 
Itahari Hospita (3)

‘वीमा बाट हुने भएकाले धेरै व्यक्तिहरू २÷३ महिनामा बिरामी नभए पनि विभिन्न स्वास्थ्य परीक्षणका लागि आउने गर्नुभएको छ, अरू नियमित स्वास्थ्य समस्या लिएर आउने बिरामीको सङ्ख्या त अझ धेरै छ,’ भट्टराईले बताइन ।  

बिरामीहरूको चाप बढेसँगै इटहरी अस्पतालले टोकन सिस्टम लगाएको छ । पूजा लिनका लागि टोकन सिस्टम लगाइएको छ । टोकनका आधारमा पुर्जा बनाउने र सोही आधारमा ओपिडीमा डाक्टरसँग भेट गर्ने व्यवस्था मिलाइएको छ । 

टोकन लिएका बिरामीलाई बस्नका लागि कुर्सीको व्यवस्थापन गरिएको अस्पतालकी प्रशासन शाखाकी पूजा भट्टराईले जानकारी दिइन । 
कुनै पनि बिरामी इटहरी अस्पताल आइसके पछि चेकजाँच, स्वास्थ्य परीक्षणका लागि कुनै अप्ठ्यारो तथा झन्झट व्यवहोर्नु नपर्ने उनले बताइन । कुनै बिरामीलाई केही समस्या भए सुरक्षामा खटिएका सुरक्षा गार्डहरूको पनि सहजिकरण गरिदिने गरेको उनले सुनाइन । 

 

स्वास्थ्य उपचारसँगै बिरामीले डाक्टरले लेखिदिए अनुसारका औषधीहरू पनि सहज रूपमा उपलब्ध गराउने गरेको अस्पतालले दाबी गरेको छ । विशेष गरी वीमा बापत प्राप्त गर्ने सुविधाका औषधीहरू सहज रूपमा वितरण गर्ने गरेको अस्पतालको भनाइ छ । औषधी वितरणमा कुनै समस्या नभएको अस्पताल प्रशासनले दाबी गरेको छ । 

२४ घण्टा इमरजेन्सी 

इटहरी अस्पतालले पछिल्लो एक वर्ष देखी २४ सै घण्टा इमर्जेन्सी सेवा दिई रहेको छ । इमरजेन्सीमा ५ बेड मार्फत सेवा दिई रहेको अस्पताले जनाएको छ । एमबिबिएस डाक्टरको नेतृत्वमा इमरजेन्सी सेवा प्रदान गरिरहेको अस्पतालको भनाई छ । 

 इमरजेन्सीमा आएका बिरामीहरूलाई थप उपचार गर्नुपर्ने अवस्था आए वा ओपिडीमा आएका बिरामीलाई थप उपचार गर्नुपर्ने भएमा जनरल वार्डको व्यवस्था गरिएको छ ।
१५ वटा बेडमा बिरामीलाई  राखेर उपचार गर्दै आएको अस्पतालले जनाएको छ । आवश्यक सेवा सुविधा सहितको जनरल बेड मार्फत बिरामीको उपचार गर्दै आएको अस्पतालको भनाई छ । 
Itahari Hospita (2)

नयाँ भवनमा थप सेवा विस्तार गरिने  

इटहरी अस्पतालको हालको भवनबाट थप सेवा विस्तारका लागि समस्या भइरहेको अस्पतालका मे.सु गुन्जन त्रितालले बताए । भवन सानो छ, पर्याप्त कोठाहरू छैनन्, चाहेर पनि थप सेवा विस्तार गर्न सकिरहेको छैन मे.सु त्रितालको भनाई छ ।
 
‘हामीसँग भवन र कोठाको अभाव छ, चाहेर पनि थप सेवा विस्तार गर्न सकिरहेको छैन’ मे.सु त्रितालले भने,‘अब थप सेवा विस्तारका लागि नयाँ भवन बनेर सञ्चालनमा आएपछि मात्रै थप सेवा विस्तार गर्न सकिने अवस्था छ । ’

सङ्घीय सरकारले दिएको बजेटबाट अस्पताल परिसरमै १५ बेडको नगर अस्पतालको भवन निर्माणाधीन छ । समयमै सकिनुपर्ने भवन निर्माणमा ढिलाइ हुँदा अस्पतालको सेवा विस्तारमा समस्या देखिएको छ । 
Itahari Hospita (4)

तर इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले अस्पतालको बन्दै गरेको भवन चाँडै सक्ने गरी काम भइरहेको बताउँछन् । 
 अस्पतालको सेवालाई विस्तार गर्न तयारी भइरहेको मेयर पौडेलले बताए ।
इटहरी अस्पतालको स्तर उन्नतिका लागि सिटिस्कान र एमआरआई मेसिन थप गर्ने तयारी भइरहेको मेयर पौडेलले बताए । त्योसँगै केही समय अघि रोटरी क्लबले दिएको डाईलासिस मेसिनलाई सञ्चालनमा ल्याउने तयारी भइरहेको पनि मेयर पौडेलले जानकारी दिए । 

हिजो राजनीतिक र प्रशासनिक रूपमा ओझेलमा परेको इटहरी अस्पतालमा अहिले स्थानीय सरकारले गरेको लगानीको केही प्रतिफल देखा पर्न थालेको छ । तर दीर्घकालीन रूपमा यही रूपले अगाडि बढाउन भने अझै ठुलो आर्थिक स्रोतको आवश्यकता पर्छ । 

सुविधा सम्पन्न अस्पताल सञ्चालनका लागि स्थानीय सरकारले दीर्घकालीन आर्थिक स्रोतको व्यवस्थापन गर्नुपर्ने चुनौती देखिन्छ । प्रदेश र सङ्घीय सरकारसँग समन्वय गर्दै अस्पतालका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार, दरबन्दी सहितको दक्ष जनशक्ति, र औजार उपकरणको व्यवस्थापन गर्नु अहिलेको मुख्य चुनौती देखिएको छ । यसका लागि स्थानीय सरकारले बुद्धिमत्तापूर्ण निर्णयको खाँचो छ ।