सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित हर्क साम्पाङले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् ।

निर्वाचन आयोगमा पेश गरिएको विवरण अनुसार उनले कुल ८ लाख २५ हजार २० रुपैयाँ खर्च गरेको उल्लेख छ ।

पेश गरिएको खर्च विवरणमा विभिन्न शीर्षक अन्तर्गत गरिएको खर्च देखाइएको छ ।

जसअनुसार मनोनयन दर्तामा १० हजार रुपैयाँ, यातायात खर्चमा २ लाख ८८ हजार रुपैयाँ खर्च गरिएको छ ।

त्यसैगरी, स्टेज तथा साउण्ड सिस्टममा १ लाख रुपैयाँ खर्च गरिएको उल्लेख छ भने स्टिकर छपाइमा २ लाख ४० हजार रुपैयाँ खर्च गरिएको छ ।

यस्तै, पर्चा पम्प्लेटमा ६८ हजार ५ सय २० रुपैयाँ र अन्य शीर्षकमा ९६ हजार रुपैयाँ खर्च गरिएको विवरणमा जनाइएको छ ।

निर्वाचन खर्च विवरण प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार पेश गरिएको हो ।

उम्मेदवारहरूले निर्वाचन सम्पन्न भएको निर्धारित समयभित्र आफ्नो सम्पूर्ण खर्च विवरण आयोगमा बुझाउनुपर्ने व्यवस्था छ ।

उनको खर्च विवरणले प्रचार–प्रसारका सामग्री तथा व्यवस्थापनमा उल्लेख्य रकम खर्च भएको देखाएको छ ।