सुनसरी - ठेकेदारसँगको विवाद तथा फार्मेसीमा कार्यरत कर्मचारीको आन्दोलनको कारणले केही समयदेखि बन्द रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको फार्मेसी सेवा पुनः सञ्चालनमा आएको छ ।
प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई सुलभ तथा सुपथ मूल्यमा औषधि उपलब्ध गराउने उद्देश्यले शुक्रबारदेखि फार्मेसी सञ्चालनमा ल्याइएको हो ।
उपकुलपति प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ, शिक्षाध्यक्ष प्रा.डा. संजीव कुमार शर्मा, रजिष्ट्रार प्रा.डा. सूर्यप्रसाद संग्रौला र अस्पताल निर्देशक डा. जगत नारायण प्रसादले संयुक्त रूपमा सटर खोलेर फार्मेसीको विधिवत् उद्घाटन गरेका हुन् ।
फार्मेसीबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध सेवाग्राहीले पनि नियमानुसार औषधि प्राप्त गर्न सक्ने प्रतिष्ठानले जनाएको छ ।
सुलभ र सुपथ मूल्यमा औषधि उपलब्ध हुने भएकाले प्रतिष्ठानमा उपचारका लागि आउने सम्पूर्ण बिरामीलाई यही फार्मेसीबाट औषधि खरिद गर्न आग्रह गरिएको छ ।