सुनसरी — लोहरुङ फुटबल क्लबमाथि १–० गोलअन्तरले जित निकाल्दै उदयपुरको बसाह क्लबले तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कृष्णप्रसाद भट्टराई स्मृति गोल्ड कपको उपाधि जितेको छ । 

इटहरीस्थित जनता बहुमुखी क्याम्पसको खेलमैदानमा आइतबार भएको फाइनल खेलमा बसाहलाई उपाधि जिताउन कप्तान रितेश तामाङले गोल गरे । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा गोल गर्न नसकेको बसाहको लागि तामाङले दोस्रो हाफको २६औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

प्रतियोगिताको विजेता टिम बसाहले ४ लाख ४ हजार रुपैयाँ नगद पुरस्कार पाएको छ । उपविजेता लोहरुङले २ लाख २ हजार २ सय रुपैयाँमा चित्त बुझाएको छ । लोहरुङका मिलन लिम्बु प्लेयर अफद फाइनल घोषित हुँदै ५ हजार ५ सय रुपैयाा नगद र मेडल प्राप्त गर्न सफल भए । 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता रितेश तामाङ घोषित भए । उनले सर्वोत्कृष्ट खेलाडी भएबापत नगद २० हजार र सर्वाधिक गोलकर्ता भएबापत नगद १३ हजार पुरस्कार पाए । 

बसाहका सन्दिप भट्टराई उत्कृष्ट गोलकिपर, मञ्जिल खड्का उत्कृष्ट डिफेन्स र केशव राई उत्कृष्ट प्रशिक्षक घोषित भए । लोहरुङका विवेक राई उत्कृष्ट मिडफिल्डर भए भने आयोजक द योङ ब्रदर्श क्लबका सबिन घिमिरे उदयमान खेलाडी घोषित भए ।

बिधागत उत्कृष्ट सबैले जनही १३–१३ हजार रुपैयाँ पुरस्कार पाए । बसाहाले दोस्रो सेमिफाइनलमा आयोजक द योङ ब्रदर्शलाई पराजित गरेको थियो भने संखुवासभाको लोहरुङले पहिलो सेमिफाइनलमा साबिक बिजेता केराबारी फुटबल क्लबलाई पराजित गर्दै फाइनल खेलेको हो ।

इटहरी उपमहानगरपालिकाको संयोजन र कोशी प्रदेश खेलकुद विकास बोर्ड संरक्षक रहेको प्रतियोगिताको विजेता तथा उपविजेतालाई इटहरी उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत महेश पराजुली, विश्वआदर्श कलेजका प्रिन्सिपल गणेश दुलाल, इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक सुवास हमाललगायतले पुरस्कार प्रदान गरे । ३० फागुनदेखि सुरु भएको प्रतियोगितामा १ भारतीयसहित ८ टिमको सहभागिता थियो ।