विराटनगर । नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति मोरङले सेवा निवृत्त १४ जना कर्मचारीलाई सम्मान गरेको छ । नेपाल निजामती कर्मचारी सङ्गठन र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था ली.को संयुक्त आयोजनामा गोपाल फन पार्क कटहरीमा भएको वनभोज कार्यक्रमको अवसरमा सेवा निवृत्त कर्मचारीहरूलाई सम्मान गरिएको हो । 
सेवा निवृत्त कर्मचारी राजु अधिकारी, गणेश बहादुर कार्की, रुद्र फुयाँल, लेखहरि भट्टराई, उमा तिवारी, डेग प्रसाद दाहाल, कपिल पौडेल, विनोद उपाध्याय, विनोद श्रेष्ठ, रवि खनाल, शम्भु भण्डारी, केदार अधिकारी, गेहराज पोखरेल र हेम खतिवडालाई सम्मान गरिएको सङ्गठनका मोरङ अध्यक्ष ओम सुवेदीले जानकारी दिए । 
सम्मानितहरूलाई नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय महासचिव जीवन काफ्ले, सङ्घीय सांसद तथा सार्वजनिक लेखा समितिका सभापति ऋषि केश पोखरेल, नेकपा एमालेका नेता विनोद ढकाल लगायतले खादा र सम्मान पत्रले सम्मान  गरेका थिए । 
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय महासचिव काफ्लेले नेपाल निजामती कर्मचारी सङ्गठनको संरक्षणमा रहेको राष्ट्रसेवक सहकारीहरूले देशभरमा ३ अर्बभन्दा बढी कारोबार गरिरहेको बताए । सङ्गठन होस् या सहकारी सबैको भूमिकामा अग्रणी गर्ने काम मोरङ जिल्लाले गरेको उनले उल्लेख गरे । नेपाल निजामती सङ्गठनले  कर्मचारीको हकहितमा काम गरिरहेको पनि उनले बताए । 
त्यसै गरी सांसद तथा सार्वजनिक लेखा समितिका सभापति ऋषि केश पोखरेलले राजनीतिक स्थिरतातर्फ केन्द्रित गराउन जिम्मेवार  नागरिकको भूमिका महत्त्वपूर्ण हुने बताए । उनले देशमा आर्थिक सुशासन कमजोर रहेको अवस्थामा सुशासनको प्रत्याभूति दिलाउने मामलामा कर्मचारीको भूमिका हुने बताउँदै उनले भने, “जो जहाँ छौँ, जुन भूमिकामा छौँ,  कानुन त जबाफदेही भएर काम गर्न सक्यौँ भने सुशासन कायम गर्न सक्छौ ।” 
सङ्गठनले लामो समय निजामती क्षेत्रमा योगदान दिएर सेवा निवृत्त भएका कर्मचारीहरूलाई हरेक वर्ष सम्मान गर्दै आएको र आगामी दिनमा पनि सम्मान कार्यक्रमलाई निरन्तरता दिँदै जाने सङ्गठनका मोरङका सचिव शालिग्राम  कोइरालाले जानकारी दिए । 

वनभोज कार्यक्रममा सम्मानसँगै विभिन्न अतिरिक्त खेलकुदका क्रियाकलाप पनि सञ्चालन गरिएको थियो ।