विराटनगर । कोशी प्रदेशको मुख्य महान्यायाधिवक्ता अधिवक्ता रुपेश कोइराला नियुक्त भएका छन् । मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा आइतबार प्रदेश प्रमुख परशुराम खापुङले कोइरालालाई मुख्य महान्यायाधिवक्ता नियुक्त गरेका हुन । नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम कोइरालालाई मुख्य महान्यायाधिवक्ता नियुक्तिको लागि मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुखलाई सिफारिस गरेका थिए । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख
खापुङले मुख्य महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
मुख्य महान्यायाधिवक्ता
प्रदेश सरकारको कानुनी सल्लाहकार हो । उनलाई आइतबार दिउँसो १ः४५ बजे उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले जानकारी दिए । मोरङको विराटनगर महानगरपालिका–९ का अधिवक्ता कोइराला प्रजातान्त्रिक कानुन व्यवसायी सङ्घ मोरङका पूर्व सभापति तथा हालका सल्लाहकार समेत हुन् । कोइराला यस अघि २०७८ चैत्रमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको अवैतनिक कानुन विज्ञको रूपमा नियुक्त भएका थिए । त्यो बेला आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारीमा वर्तमान मुख्यमन्त्री कार्की थिए ।