विराटनगर । नेपाली काँग्रेसको महासमिति बैठकमा उठाउनुपर्ने विषयमा सुझाव सङ्कलन गर्न सुनसरीको इटहरीमा ‘लोकतन्त्र संवाद’ कार्यक्रम आयोजना गरिएको छ ।
नेपाली काँग्रेसका महामन्त्री गगन थापा समूहको अगुवाइमा कार्यक्रम आयोजना गरिएको दाबी गरिएको छ । 
विशेष गरी गगन समूहले आगामी महासमिति बैठकमा प्रस्तुत गर्ने विषयवस्तुका बारेमा तल्लो तह सम्मका सुझाव सङ्कलन गर्न कार्यक्रम आयोजना गरिएको दाबी गरिएको छ । 
‘लोकतन्त्र संवाद’ नाम दिइएको कार्यक्रममा कोसी प्रदेशका केही केन्द्रीय सदस्य, सबै १४ वटै जिल्लाबाट २८ वटा निर्वाचन क्षेत्रका प्रतिनिधि, जिल्ला पार्टी सभापति, क्षेत्रीय सभापति सहित पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । 
विशेष गरी गगन समूहका नेताहरूको सहभागिता थियो । त्यस्तै पछिल्लो समय परिवर्तन चाहने पक्षका नेताहरूको पनि कार्यक्रममा उपस्थिति रहेको थियो । 
समुहगत छलफल बाट आएका सुझावलाई आगामी फागुन ७ गते हुने नेपाली काँग्रेसको महासमिति बैठकमा प्रस्तावको रूपमा लगिने कार्यक्रममा सहभागी नेपाली काँग्रेस धनकुटाका उपसभापति निर्मल ओझाले बताए । 
संवादमा नेपालमा सङ्घीयताका सवालहरू, नेपालको निर्वाचन प्रणालीमा गर्नुपर्ने सुधार, नेता र जनप्रतिनिधिको जबाफदेहिता, लोकतान्त्रिक चरित्र निर्माण र पार्टी विधानमा संशोधनका विषयमा छलफल भएको थियो । 
कार्यक्रमको सभापतित्व नेपाली काँग्रेस सुनसरीका सभापति केदार भण्डारीले गरेका थिए । 
नेताहरूले के दिए सुझाव 
तीन घण्टा लामो छलफलमा नेताहरूले केन्द्रीय सभापति, प्रदेश सभापति, जिल्ला सभापति क्षेत्रीय प्रतिनिधि द्वारा बहुमत द्वारा चुनिनुपर्ने व्यवस्था हुनुपर्ने  सुझाव दिएका छन् । 
यस्तै , टिकट वितरणको जिम्मेवारी सम्बन्धित तहलाई दिनुपर्ने ।
विधान समयानुकूल संशोधन गर्दै सबै तहका सभापतिलाई उपसभापति, सहसचिव लगायत मनोनीतको अधिकार दिनुपर्ने ।
 पिछडिएको वर्ग, लिङ्ग, समुदाय, अवसर बाट वञ्चित व्यक्तिलाई मात्र समानुपातिक सूचिमा राखिनुपर्ने ।
वडा तहलाई मजबुत बनाउँदै पार्टीले केन्द्रीय मूल्याङ्कन विभाग बनाउनुपर्ने र व्यवस्थित तरिकाले प्रविधिको प्रयोगमा मूल्याङ्कन हुनुपर्ने । पार्टीमा सुशासन कायम गर्दै आचरण राम्रो भएको व्यक्तिहरूलाई अगाडी ल्याउनुपर्ने लगायतका सुझाव दिएका थिए ।