झापा । चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा एक सय २२ ठाउँमा आगलागीका घटना भएका छन्  । चालु आर्थिक वर्ष २०८०÷०८१ को पुस तेस्रो सातासम्म झापामा १ सय २२ ठाउँमा आगलागीका घटना भएको प्रहरीको तथ्याङ्कमा देखिन्छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार जिल्लाका १५ वटा पालिकाका विभिन्न ठाउँमा भएको आगलागीमा परी एक जनाको मृत्यु भएको छ । ३ करोड ५६ लाख ३० हजार ७ सय रुपैयाँ मूल्य बराबरको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि पुस २१ गतेसम्म जिल्लाका सबै पालिकाका विभिन्न स्थानमा आगलागीका भएका छन् । यी घटनामा परी ११ जना घाइते भए । ५ हजार ५ सय २० वटा चौपाया मरेका छन् । 
आगलागीमा परेर जिल्लामा पूर्ण र आंशिक रूपमा २९ वटा घर जल्दा १ करोड ३९ लाख ५७ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । ८ वटा भान्सा घर जल्दा ११ लाख ३५ हजार र २२ वटा गोठ घर जल्दा १ करोड २८ लाख ६६ हजार रुपैयाँको क्षति भएको उनको भनाई छ ।  
पुस २१ गतेसम्म जिल्लाका विभिन्न स्थानमा भएका आगलागीमा ५ वटा सवारी साधनमा क्षति पुगेको छ ।  ५५ लाख रुपैयाँ नोक्सान भएको प्रहरी प्रवक्ता रिजालले जानकारी दिए ।  ४९ वटा परालको कुन्यूमा आगलागी हुँदा ३० लाख २२ हजार २ सय रुपैयाँको क्षति भएको छ । विभिन्न प्रकारका ३ वटा उद्योगमा भएको आगलागीमा  ३५ लाख रुपैयाँको क्षति पुगेको प्रहरीको तथ्याङ्कले देखाएको छ  । अन्य ४ वटा आगलागीका घटनामा ६ लाख रुपैयाँ क्षति पुगेको छ ।
प्रहरीका अनुसार यो अवधिमा सबैभन्दा बढी मेचीनगर नगरपालिकामा २१ वटा आगलागीका घटना भएका छन् । आगलागीबाट ५९ लाख १६ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको भनाई छ  ।  घटनामा परेर ५ वटा घर पूर्ण तथा आंशिक रुपमा जल्दा १६ लाख ५० हजार रुपैयाँ बराबरको भौतिक सम्पत्तिमाथि क्षति पुगेको प्रहरीले जनाएको छ । एउटा चौपाया मरेको छ भने  ३ वटा घाइते भएका छन् ।

मेचीनगरमा भएको आगलागीमा ५ वटा गोठ घर जलेर नष्ट हुँदा १२ लाख ५० हजार रुपैयाँको क्षति भएको छ । अर्जुनधारा, कनकाई नगरपालिका तथा हल्दिवारी र बुद्धशान्ति गाउँपालिकामा ४-४, भद्रपुर नगरपालिकामा १४, बिर्तामोड नगरपालिकामा १६, शिवसत्ताक्षी नगरपालिकामा ७, दमक नगरपालिकामा ८, गौरादह नगरपालिका र झापा गाउँपालिकामा ९-९, कमल र गौरीगञ्ज गाउँपालिकामा ६-६, कच कवल र बाह्रदशी गाउँपालिकामा ५-५ आगलागीका घटना भएको प्रहरीले जनाएको छ । धेरैजसो घटना विद्युत् सर्टका कारण भएको पाइएको छ ।