विराटनगर । राष्ट्रिय सभाको निर्वाचनका सत्ता गठबन्धनका उमेद्वारहरुले बिहान १० बजे जै उमेद्वारी दर्त गाराउने भएका छन् । सत्ता गठबन्धनका तर्फबाट कोशी प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट कृष्ण सिटौला र माओवादीकी चम्पा कार्कीले बिहान १० बजे उमेद्वारी दर्ता गराउने भएका छन् । सत्ता गठबन्धनका तर्फबाट एकै पटक उम्मेदवारी दर्ता गर्ने सहमति भएकोले बिहान १० बजे नै उम्मेदवारी दर्ताको समय लिएको कांग्रेस कोशी प्रदेश समितिका सभापति उद्धव थापाले बताए । उम्मेद्वारी दर्ता गर्ने नेता सिटौला राति नै विराटनगर आइपुगेका छन् ।

सत्तारूढ गठबन्धनको भागबन्डाअनुसार कोशीमा अन्यतर्फ कांग्रेसले र महिलातर्फ माओवादीले उम्मेदवार उठाउने तय भएको थियो । माओवादीले महिलामा ओखलढुंगाकी चम्पादेवी कार्कीलाई उम्मेदवार बनाएको छ । उनी शसस्त्र आन्दोलनका बेला घाइते भएकी थिइन् । सिटौला भने कांग्रेसका पूर्वमहामन्त्री हुन् । उनी  गत प्रतिनिधिसभा निर्वाचनमा झापा ३ बाट पराजित भएका थिए ।

एमालेले भने दिउँसो १ बजे उमेद्वारी दिने भएको छ । एमालेका तर्फबाट अन्यमा भोजपुरका परशुराम अधिकारी र महिलामा सुनसरीकी रुक्मिणी कोइरालालाई उम्मेदवार बनाउने भएको छ । अधिकारी एमालेको केन्द्रीय सदस्य एवं जिल्ला सह–इन्चार्ज छन् भने कोइराला सुनसरीको इटहरी निवासी महिला नेतृ हुन् । निर्वाचन अधिकृतको कार्यालयले १ बजेको समय छुट्टाएको एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले बताए । कोशीबाट राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीका उपाध्यक्ष रहेका उद्धव पौडेललाई उम्मेदवार बनाउने भएको छ ।