विराटनगर । नेपाली काँग्रेसले गरेको राष्ट्रिय सभा उम्मेदवार छनोट प्रक्रियालाई लिएर नेपाल ट्रेड युनियन काँग्रेसले असन्तुष्टि जनाएको छ । सोमबार ट्रेड युनियनका महासचिव अजय कुमार राईले विज्ञप्ति मार्फत राष्ट्रिय सभाको उम्मेदवारमा क्षमता भएका र अवसर नपाएकाहरूलाई नजर अन्दाज गरिएको बताए । उनले मुलुकको संविधानले समेत हरेक वर्ग, क्षेत्र, समुदायको प्रतिनिधित्व सुनिश्चित हुने व्यवस्था गरे पनि त्यस विपरीत काँग्रेसले उम्मेदवार चयन गरेको बताए । महासचिव राईले पटक पटक अवसर पाएका व्यक्तित्वलाई दोहोर्याई, तेहेराई राष्ट्रिय सभा जस्तो बौद्धिक वर्गको उपस्थिति रहने स्थानमा अवसर दिनु न्यायसङ्गत नभएको बताए । उनले भने, ‘हामी समावेशी उम्मेदवार चाहन्थ्यौ । यहाँ श्रम क्षेत्र, श्रमिकको आवाज बोल्ने र सहयोगी हुने व्यक्तित्वलाई पाखा लगाइएको छ । पार्टीले फेरि एक पटक श्रमिकलाई बेवास्ता गरेको महसुस गरेका छौँ ।’
मुलुकलाई आवश्यक पर्दा हरेक लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिकामा रहेका ट्रेड युनियन लगायत पेसाकर्मी, बौद्धिक वर्गको राष्ट्रिय सभामा उपस्थितिबाट वञ्चित गराइएको बताए । प्रजातन्त्रदेखि गणतन्त्र ल्याउनसम्म अहम् भूमिका खेल्ने पक्ष राष्ट्रिय सभाबाहिर राखिनु आफैमा दुःखद भएको बताएका महासचिव राईले सिङ्गो पार्टीले अवसर नपाएका श्रमिकलाई स्थान दिन गरेको खराब व्यवहार प्रति ट्रेड युनियनको गम्भीर भएको बताए ।