विराटनगर । जनता समाजवादी पार्टीकी सांसद निर्मला लिम्बुले समानुपातिकबाट आएका सांसदलाई अन्याय भएको बताएकी छिन् । प्रदेश सभामा बोल्ने क्रममा लिम्बुले समानुपातिकबाट आएका महिला सांसदलाई अन्याय गर्ने काम बजेट देखि संसदीय समितिमा पनि हुने गरेको बताइन् । उनले लैङ्गिक विभेदले चरम सीमा नाघेको आरोप पनि लगाउन भ्याइन् । पितृ सत्ताको कारण आफूलाई ओझेलमा पारेको पनि भन्न भ्याइन् । ‘बिचरा हामी प्रदेश सभा भित्र समानुपातिकबाट आउने अधिकांश महिला समानुपातिक सांसद भएर आएका छौँ, उनले भनिने, पितृ सत्ताको कारण हामी सबैलाई ओझेलमा पारेर प्रत्यक्षलाई बजेट बढी दिने काम भयो ।’
‘एक दुई वटा परेको बजेटलाई पनि प्रत्यक्षबाट जितेका सांसदले यो बजेट मैले पारेको भनेर जाने सार्वजनिक गरेको पाइयो, उनले भनिन्, कर्मचारीसँग छलफल गरेर बिन्ती बिसाएर पारेको बजेटमा पनि प्रत्यक्ष सांसदले गएर अनुगमन गर्नु कहाँसम्मको जायज हो ?’
समानुपातिकबाट आएको सांसदलाई संसदीय समितिको सभापति नदिने खालको कुरा आएको बताउँदै उनले यस्तै हो भने सरकारले निर्णय गरेर समानुपातिकको अस्तित्व नस्विकार्ने गरी निर्णय गर्न चुनौती दिइन् ।