विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी सरकार र सडक दुवै ठाउँबाट प्रदेश खारेजीको. आन्दोलन हुने बताएका छन् ।  कोशी प्रदेश सभामा चौथो अधिवेशनको तेइसौँ बैठकमा बोल्दै राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले राप्रपा सरकार र सडक दुवै ठाउँबाट आन्दोलनमा रहेको बताए ।
मङ्गलवारको प्रदेश सभाबाट राप्रपाका सांसद अम्बरबहादुर विष्ट सभामुखमा निर्वाचित भएका थिए । राप्रपाले आफ्नो मुख्य एजेन्डा प्रदेश खारेजी रहेको बताउँदै आए पनि उसले प्रदेश सभाको सभामुख भने छाडेको छैन । ‘म स्वयममा प्रदेश खारेज गर्नु पर्छ भन्ने मुद्दाबाट आन्दोलित छु, यो मुद्दा मैले छाडेको छैन, उनले भने, मेरो पार्टीले सडकबाट पनि आन्दोलन गर्ने र सत्ताबाट पनि आन्दोलन गर्ने भनेर हामीले नीति बनाएका छौँ ।’ सत्ताबाट आन्दोलन गर्दा नीति, ऐन, नियम कानुनलाई पालना गरेर गर्ने, प्रदेश सभाभित्र आएर दङ्गा फसाद गर्ने नभएको बताए । आफू पदमा बसेर गरेका सत्कर्म र व्यवहारले पार्टीको पहिचान दिने र आन्दोलन डोर्‍याउन सम्भव हुने बताए । भोलीको वातावरण बनाउनकोलागि आजकोलागि उदाहरणीय काम गरेर जानुपर्ने बताए ।  उनले सभामुखलाई सकारात्मक भावबाट काम गर्न आग्रह गरे । 

सरकारले समूह केन्द्रित वा व्यक्ति केन्द्रित भएर काम गर्न नहुने समेत सुझाए । कोशी प्रदेशको मुख्यमन्त्री हुँ भन्ने सोचबाट काम गर्न सरकारलाई आग्रह गरे । ‘सरकारले रचनात्मक कुराहरू कोशी प्रदेशको समृद्धिको कुरामा साझा कार्यक्रम बनाएर लाग्नु पर्नेमा जोड दिए । मैले यो गरेँ भनेर लाग्नु हुँदैन, उनले भने, हामीले यो गर्‍यौँ भनेर लागौँ, दलका नेतालाई आत्म सम्मानमा ठेस लगाउने काममा मुख्यमन्त्री लाग्नु हुँदैन, सहकार्य र सहमतिको लागि लाग्नुपर्छ ।’