विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सरकारले गुण र दोषको आधारमा आलोचना हुने बताएका छन् । कोशी प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै कार्कीले अहिले नै सरकारको कामको आलोचना गरिहाल्नु पर्ने अवस्था आई नसकेको बताए । ‘सरकारको आलोचना गरिरहनु पर्ने अवस्था आई सकेको छैन, उनले भने, एक सय दिन पुरा गरेपछि मात्र सरकारको गुण र दोषको आधारमा सरकारको आलोचना हुनेछ ।’
उनले दोस्रो प्रदेश सभाको एक वर्ष पुरा भएको स्मरण गराउँदै यो एक वर्षमा प्रदेश सभाले ५ मुख्यमन्त्री र २ सभामुख पाएको समेत स्पष्ट पार्दै यस्तो अवस्थामा पनि धेरै कामहरू सभाले गर्न सकेको बताए । 
गत वर्ष पुस २८ गते सर्वसम्मत सभामुख पाएको प्रदेश सभाले  ५ महिना पुग्दा नपुग्दै सभामुख गुमाएको पनि सुनाए । सभामुखको राजीनामा जसले दिन बाध्य बनायो त्यही दलले फेरी सभामुख चाहियो भन्दै माग्नु पर्ने अवस्था आएको भन्दै माओवादी प्रति कार्कीको कटाक्ष थियो । नव निर्वाचित सभामुखले बाँकी ४ बर्षकोलागि जिम्मेवारी पूर्वक काम गर्नेमा नेकपा एमाले विश्वस्त रहेको बताए । 

‘एक वर्षमा कोशी प्रदेश सभा सफल रहेको छ, उनले भने, समस्यै समस्याको बिचमा पनि कोशी प्रदेश सभाले सङ्घीय प्रतिनिधि सभाले गरेको भन्दा धेरै काम गर्न सफल भएको छ ।’