विराटनगर । माइती नेपालले मानव बेचबिखन तथा ओसारपसार र बाल यौन शोषण विरुद्ध सेवा प्रदायकसँग क्षमता अभिवृद्धि गर्ने विषयमा छलफल गरेको छ। विराटनगरमा एक कार्यक्रमको आयोजना गरी आगामी दिनमा गरिने कार्यक्रमको बारेमा छलफल भएको हो । मानव बेचबिखनसँगै बाल यौन शोषणका विषयहरू पनि आउन थालेको भन्दै यस बारेमा थप कार्यक्रम गर्नु पर्ने निष्कर्ष सहित छलफलको आयोजना गरिएको माइती नेपालका कार्यक्रम संयोजक विनोद पोखरेलले जानकारी दिए ।
मानव बेचबिखन तथा ओसार विरुद्ध गरिने विभिन्न कार्यक्रमहरूलाई सेवा प्रदायकहरू सँगको सहकार्यबाट प्रभावकारी हुने सहभागीको भनाई छ। यसको रोकथाम कोलागि रणनीतिक रूपमा सबै सेवा प्रदायकको भूमिका महत्त्वपूर्ण हुनेमा जोड दिइएको छ । कार्यक्रममा माइती नेपालले गर्दै आएको कामको बारेमा जानकारी दिँदै मनोपरामर्श गीताञ्जली शर्माले बाल यौन शोषणको अवस्थाको बारेमा बताइन् । बाल यौन शोषणको बारेमा अहिलेसम्म आएका उजुरीका बारेमा छलफल भएको थियो । बाल यौन शोषण विरुद्धको अभियानलाई स्थानीय तह, प्रहरी, सशस्त्र प्रहरी, गैसस र माइती नेपालको समन्वय र सहकार्यमा आगामी दिनहरूमा कार्यक्रमहरू गर्न सकिनेमा सहभागीले जोड दिएका छन् ।
सीमा नाकासँग जोडिएका वडाहरूमा मानव बेचबिखन विरुद्धका अभियानमा सहयोग गर्ने ६ वटा वडा सहित विभिन्न सरोकारवाला निकाय पनि सहभागी रहेको थियो । माइती नेपाल संस्थाको तर्फबाट अहिले भइरहेको कामको बारेमा जानकारी दिँदै आगामी दिनमा गर्ने कार्यक्रम, आउन सक्ने चुनौती, मानव बेचबिखनको बदलिँदो स्वरूपको बारेमा सहभागीसँग सुझाव समेत लिइएको शर्माले बताइन् । क्षमता अभिवृद्धिका लागि स्थानीय तहका वडामा कार्यरत स्वयम सेविका तथा जनप्रतिनिधिलाई तालिम दिनु पर्ने माग वडा अध्यक्षहरूको छ।
कार्यक्रममा वडा अध्यक्ष तथा सदस्यहरू, गैसस महासङ्घ, राष्ट्रिय मानवअधिकार आयोग, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल रानी, राष्ट्रिय बाल अधिकार परिषद्, बालबालिका खोज तलास केन्द्रको सहभागिता रहेको थियो ।