विराटनगर । राष्ट्रियसभाको निर्वाचनमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका बिचमा तालमेल गर्ने सहमति भएको छ। सोमबार साँझ भएको सहमति अनुसार आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशको दुई रिक्त सदस्य पदमा नेकपा एमाले र राप्रपा बिच तालमेल गर्ने भनिएको छ। राप्रपाका प्रदेश अध्यक्ष राम थापा र नेकपा एमालेका प्रदेश अध्यक्ष घनश्याम खतिवडा बिच भएको एक बुँदे सहमतिमा नेकपा एमालेकी उम्मेदवार महिला तर्फ रुक्मिणी कोइराला र राप्रपाका अन्य तर्फका उम्मेदवार उद्धव पौडेललाई मतदान गर्ने उल्लेख छ ।
उक्त सहमतिको पक्षमा दुवै उम्मेदवारहरूलाई मतदान गरी विजयी गर्न सहमतिमा नै अपिल गरिएको छ। यो सहमतिसँगै कोशी प्रदेशमा देखिएको अन्यौलतालाई बाटो खोल्ने काम गरेको नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कुमार कार्कीले जानकारी दिए । कोशी प्रदेशमा भएको यो सहमतिले राष्ट्रिय राजनीति र प्रदेशमा समेत राप्रपा गठबन्धन बाहिरै रहेको स्पष्ट पारेको उनले बताए ।