विराटनगर । धरान उप महानगरपालिकाका मेयर हर्क साम्पांग राष्ट्रिय सभाको निर्वाचनमा मतदानमा सहभागी भएका छैनन् । विराटनगरमा बिहान ९ बजेबाटै राष्ट्रिय सभाको निर्वाचनका लागि मतदान जारी रहेपनि साम्पांग भने अहिले सम्म धरानमै छन् । उनी अहिले वडाको कार्यक्रममा सहभागी छन् । यसपछि धरान वडा नम्बर ५ स्वास्थ्य सम्बन्धी कार्यक्रममा सहभागी हुन जाने कार्यक्रम रहेको साम्पांगको सचिवालयले जनाएको छ ।

अहिले सम्म विराटनगर जाने भन्नु भएको छैन । साम्पांगको सचिवालयले भन्यो, अहिले सम्म मतदानमा जाने नजाने केही भन्नु भएको छैन । उहाँ धरानमै हुनुहुन्छ ।साम्पांग धरानमा स्वतन्त्र रूपमा विजयी भएका हुन् । उनी दलहरूले गर्दा काम गर्न नसकेको भन्दै आएका छन् ।

बिहान ९ बजेबाट सुरु र्भएको मतदानमा अहिले सम्म प्रदेशमा सभामा रहेका ९३ जना प्रदेश सभा सदस्यहरूले मतदान गरेका छन् । स्थानीय तह तर्फबाट भने ४ जनाले मतदान गर्न बाँकी रहेको निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थ भट्टराईले बताए । उनले ३ बजे सम्म मतदानको समय रहेकाले अहिले नै को आयो आएन भनेर गणना भई नसकेको बताए ।

कोशी प्रदेशमा राष्ट्रिय सभाको निर्वाचनमा ५ जनाको उमेद्वारी परेको छ । ५ जनाको उम्मेदवारी परे पनि एमाले र राप्रपाका बिचमा तालमेल हुँदा एक जना उमेद्वारलाई निष्क्रिय बनाइएको छ । एमालेले राप्रपाका उद्धव पौडेललाई मतदान गर्ने र राप्रपाले एमालेकी रुक्मिणी कोइरालालाई मतदान गर्ने सहमति भएको छ ।

सत्ता गठबन्धनबाट अन्य तर्फ कृष्ण प्रसाद सिटौला र महिला तर्फ माओवादीकी चम्पा देवी कार्कीलाई उम्मेदवार बनाएको छ । कोशीमा ९३ जना प्रदेश सभा सदस्य र २७४ जना प्रमुख उप प्रमुखले मतदान गर्ने छ ।