सुनसरी ।राष्ट्रिय सभा सदस्यका लागि देशभरिबाट १९ जना चयन हुँदा केही यस्ता नेता पनि छन्, जसलाई यसअघि जनताले अस्वीकार गरेका थिए । परीक्षाका लागि फेरि जनताकै दैलोमा पुग्नुको साटो ती नेताले अर्कै बाटो तय गरेर संसद्मा प्रवेश पाउने भएका छन् । त्यस्तै एक नेता हुन् नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला । सिटौलासहित जनता समाजवादी पार्टीकी पूजा चौधरी पनि जनताले हराएका तर जनप्रतिनिधिले जिताएका पात्र हुन् ।
नेपाली राजनीतिमा लामो समयदेखि सक्रिय सिटौला गत वर्ष भएको प्रतिनिधिसभा निर्वाचनमा झापा ३ बाट उम्मेदवार थिए । तर राप्रपाका राजेन्द्र लिङ्देनसँग उनी पराजित भए ।
संविधानसभामा संविधान मस्यौदा समितिका सभापतिसमेत रहेका सिटौलालाई संविधान जारी भएपछि २०७४ को संसदीय निर्वाचनमा पनि जनताले जीतका लागि पर्याप्त मत दिएनन्, त्यसबेला पनि लिङ्देनसँगै हारे ।
प्रतिनिधिसभा प्रवेशमा जनताले रोकेका यी नेतालाई यसपटक भने कांग्रेसले अर्कै बाटोबाट सदनमा प्रवेश गराएको छ, जसमा सत्ता गठबन्धनको समेत साथ रह्यो । कोशी प्रदेश सभाअन्तर्गत पुरुषतर्फको उम्मेदवारका रुपमा उनलाई प्रदेश सभा सांसद र स्थानीय तहका पदाधिकारीले जिताएका हुन् ।
कांग्रेस पूर्वमहामन्त्रीसमेत लिङ्देनसँग नै पराजित भएका थिए । राष्ट्रिय सभा सदस्य मात्र होइन सिटौला संसद् प्रवेश गरेसँगै फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाका अध्यक्ष लागि सत्तागठबन्धन दलले अघि सारेका उम्मेदवारसमेत हुन् । त्यो अवसरमा उनले प्राप्त गरे जनताबाट अनुमोदित नभए पनि राष्ट्रिय सभा सदस्य हुँदै देशको सम्मानित पाँच पदमा पुग्ने व्यक्ति हुनेछन्, सिटौला ।
२०७९ सालको प्रदेश सभा निर्वाचनमा रौतहट ३ बाट पराजित जसपाकी पूजा चौधरीसमेत जनप्रतिनिधिको मतबाट राष्ट्रिय सभा सदस्यमा विजयी भएकी छन् । प्रदेश सभा निर्वाचनमा उनी केशव रायसँग पराजित भएकी थिइन् । जुन क्षेत्रका जनताले उनलाई हराएका थिए, त्यहीँका जनप्रतिनिधिले भने उनलाई संघीय संसद्सम्म पुर्याएका हुन् ।