विराटनगर । विराटनगर महानगरपालिकाले वीडीईसीडीवी मल्टी रेसिङ एन्ड जेभी संस्थासँगको सहकार्यमा बाल स्वास्थ्य शिविर सुरु भएको छ। विराटनगर वडा नम्बर २ बाट बाल स्वास्थ्य शिविर सुरु भएको हो । 
बाल स्वास्थ्य शिविरको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र वडा नम्बर २ का अध्यक्ष कुमार पोखरेलले शुभारम्भ गरे ।   बाल स्वास्थ्य विशेष कार्यक्रम अन्तर्गत शिविर आयोजना गरिएको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए । शिविरमा आएका ५ वर्षभन्दा मुनिका सबै बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरी उनीहरूलाई औषधि तथा उपचार गरिने महानगरले जनाएको छ। 
सरसफाइलाई प्रवर्द्धन गर्नका लागि शिविरमा सहभागी हुने सबै बालबालिकाका लागि हात धुने साबुन वितरण गरिने डा. कविता अधिकारीले जानकारी दिइन् । उनका अनुसार खास गरी शिविरमा ५ वर्षमुनिका बालबालिकाको पोषण स्थिति लेखाजोखा गरी कुपोषण भएका बालबालिकाको पहिचान गरी ती बालबालिकाहरूको पोषण स्थिति सुधारका लागि पोषण सामग्रीसमेत वितरण गरिन्छ । 
कुपोषण पहिचान बालबालिकाहरूलाई दाल, चामल, गेडागुडी, अण्डा, केरा, दूधलगायतका पोषण सामग्री ३ महिनाका लागि वितरण गरिन्छ । कुपोषित बालबालिकाहरूको स्वास्थ्य अवस्था सुधार भए नभएको भनी घरमै गएर पोषणको लेखाजोखासमेत गरी उचित व्यवस्थापन गर्दै बालबालिकाको बिरामी र मृत्युदर घटाउन विभिन्न कार्यक्रम सञ्चालन गरिने वीडीईसीडीवी मल्टी रेसिङ एन्ड जेभीमा आबद्ध डा. सुरेन्द्र बस्नेतले बताए । यस्तै शिविरमा बालबालिका लिएर आउने आमाहरूलाई बालबालिकाको स्वास्थ्य स्याहारका लागि परामर्शसमेत दिइने उनले जानकारी दिए । 
शिविरमा उपचार हुन नसक्ने बालबालिकाहरूलाई अस्पतालसँग समन्वय गरेर सम्पूर्ण उपचार निःशुल्क गर्ने व्यवस्था पनि मिलाइने डा. बस्नेतको भनाइ छ । बाल स्वास्थ्य विशेष कार्यक्रमअन्तर्गत यसअघि वडा नम्बर १२, १४, १७, १८ र १९ वटामा विभिन्न कार्यक्रम सञ्चालन भइसकेका छन् ।