विराटनगर । नेपाल प्रहरीका महानिरीक्षक वसन्त  कुँवरले प्रहरीको सङ्गठन संरचना माघ १७ गते निर्णय गरेर प्रदेश सरकारलाई हस्तान्तरण गर्ने  बचन दिएको कोशी प्रदेशका  मुख्यमन्त्री केदार कार्कीले बताएका छन् । कोशी प्रदेशका मुख्यमन्त्री  कार्कीसँग सोमबार भएको भेटमा कुँवरले प्रहरी सङ्गठनको संरचना तयारी अवस्थामा रहेकाले माघ १७ गते हस्तान्तरण हुने बताएको कार्कीले दाबी गरेका छन् ।  मुख्यमन्त्री कार्की प्रहरी समायोजनका विषयमा कुरा गर्न प्रहरी प्रधान कार्यालय पुगेका थिए । 
प्रहरी समायोजनको प्रक्रिया अघि बढिसकेको र आउँदो १७ गते प्रहरी सङ्गठन संरचना हस्तान्तरण गर्ने तयारी छ, मुख्यमन्त्री कार्कीले नेपाल प्रेससँग भने प्रहरी समायोजनको बाँकी काम प्रक्रियागत रूपमा हुने भएकाले तत्काल सङ्गठन संरचना हस्तान्तरणको तयारी गरिएको हो ।
संविधान प्रदत्त प्रदेशको शान्ति सुरक्षाको अधिकार प्रदेशले प्राप्त गरी संविधान कार्यान्वयन गर्नु सबैको दायित्व भएको मुख्यमन्त्री कार्कीको भनाइ थियो । सङ्घीय सरकारले प्रहरी समायोजन, कानुन निर्माणलगायतका प्रक्रिया पूरा गर्न ढिलाइ गरेकाले सङ्घीयताको पूर्ण कार्यान्वयन हुन नसकिरहेको अवस्थामा  सङ्घीय सांसद तथा मन्त्रीहरूले नै प्रदेशले काम गर्न नसकेको भन्दै विरोध भइरहेको छ  ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शम्शेर राईलगायत सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरूको काठमाडौँमा सम्पन्न भेलाले पनि तत्काल प्रहरी समायोजनका लागि सङ्घीय सरकारलाई ध्यानाकर्षण गराएका थिए ।
यसअघि बागमती प्रदेशको हेटौडामा सम्पन्न कोशीका मुख्यमन्त्री कार्कीलगायतका सात वटै प्रदेशका मुख्यमन्त्रीहरूको भेलाले तत्काल प्रहरी समायोजनलगायतका प्रक्रिया अघि बढाएर संविधान कार्यान्वयनका समन्वय र सङ्घर्ष गर्ने निर्णय गरेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।