सुनसरी । सरकारले सहिदको सम्मानमा बिदा नदिएको भन्दै इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीले भर्त्सना गरेका छन् ।
इनरुवा नगरपालिकाले सहिद दिवसको अवसरमा गरेको कार्यक्रममा बोल्दै नगर प्रमुख भण्डारीले सहिदलाई कहिले पनि हामीले भुल्न नहुने बताए ।
संघीता, लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि सहिदले निर्वाह गरेको भूमिका र देखाएको बाटोलाई सबैले स्वीकार गरेर अगाडि बढ्नुपर्नेमा नगर प्रमुख भण्डारीले जोड दिए । सङ्घीयता, लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा सहिदको भूमिका महत्त्वपूर्ण रहेको उनले बताए ।
सहिदले प्राप्त गरेको सहादतका कारणले जहानियाँ राणा शासनको अँध्यारोबाट प्रजातन्त्रको उज्यालो दिनमा ल्याउनुका साथै संघीता, लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि समेत सहिदले निर्वाह गरेको भूमिका र देखाएको जीवन अर्पण प्रति उनले नमन गरेका छन् ।
सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा १ स्थित सहिद गेटमा सहिदको सालिकमा नगर प्रमुख केदार भण्डारी, उप–प्रमुख विनीता कुमारी मेहता, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आर्चायले माल्यार्पण गरेका थिए । सो कार्यक्रममा सुनसरीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विपिन रेग्मी, सशस्त्र प्रहरी उपरीक्षक लोकेस तुम्बाहाम्फे, इनरुवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, इनरुवा ५ का वडा अध्यक्ष अनिल पोखरेल, ६ का वडा अध्यक्ष सुमन थापा सहित विभिन्न विद्यालयका शिक्षक, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।