इटहरी । नेपाली काँग्रेसको राष्ट्रिय अभियान ‘समुदायमा काँग्रेस’ इटहरीमा आजबाट सुरु भएको छ । नेपाली काँग्रेस इटहरी उपमहानगर समितिले ‘समुदायमा काँग्रेस’ अभियान तथा सहिद दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरी अभियानको सुरुवात गरेको हो ।
इटहरी उपमहानगर समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा ६३ प्रिन्ट रगत सङ्कलन भएको छ । रक्तदान कार्यक्रममा काँग्रेसका नेता तथा कार्यकर्ताले रगत दान गरेका थिए ।
‘समुदायमा काँग्रेस’ अभियानको अन्तर्गत पहिलो कार्यक्रम नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य प्रदीप सुनुवारको प्रमुख आतिथ्ययतामा सम्पन्न भएको थियो ।
‘समुदायमा काँग्रेस’ अभियान अन्तर्गत आजबाट २० वटै वडामा जनताका कुरा सुन्ने कार्यक्रम सुरु गरिएको नेपाली काँग्रेस नगर सचिव विक्रम घिमिरेले जानकारी दिए ।
केन्द्रीय समितिको नीति तथा निर्देशन अनुसार अभियान अन्तर्गत वडा स्तरमा कार्यक्रम सञ्चालन भइरहेको सचिव घिमिरेले जानकारी दिए ।
जनताका कुरा सुन्न काँग्रेस नेताहरू नै गाउँ गाउँ तथा टोल टोलमा कार्यक्रम लिएर पुग्ने सचिव घिमिरेले जानकारी दिए । माघ २६ गते सम्म दैनिक रूपमा कार्यक्रम आयोजना गरिने उनले जानकारी दिए ।