इटहरी । हात्ती गाउँ पस्ने डरले रातभर जाग्राम बस्ने इटहरीका हात्ती पीडितका गुनासो सुन्न काँग्रेस नेताहरू टोल टोलमा पुगेका छन् ।
दैनिक जसो हात्ती गाउँ पसेर घर भत्काउने, बाली खाइदिएर हैरान भएका इटहरीवासीको कुरा सुन्न काँग्रेस नेताहरू गाउँ गाउँमा पुगेका हुन ।
उनीहरूले इटहरीका हात्ती प्रभावित वडाहरू २,३,१९ र २०का गाउँ गाउँमा पुगेर प्रभावितहरूको कुरा सुनेका हुन ।
वडा न. २ को हात्ती चौक, वडा न. ३को खोर्साने खाप, वडा न. १९को हात्ती गौडे र वडा न. २० को बहुभाषी विद्यालयको खेलमैदानमा भेला भएका गाउँलेहरूसँग काँग्रेसका नेताहरूले अन्तर्क्रिया माध्यमबाट गुनासो,दुःख पिडा सुने । भत्किएका घर सहित प्रभावित क्षेत्रमा पुगेर अवलोकन पनि गरे ।
हात्ती पीडितका गुनासो सुन्न कोसी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राई देखी केन्द्रीय सदस्यद्धय राजीव ढुङ्गाना, प्रदीप सुनुवार,जिल्ला सभापति केदार भण्डारी, इटहरीका नगर सभापति तथा नगर प्रमुख हेमकर्ण पौडेल देखी वडा अध्यक्ष मणिराम श्रेष्ठ सहितका नेताहरू गाउँ गाउँ पुगेका थिए ।
नेपाली काँग्रेस सुनसरी क्षेत्र न. २ क को अगुवाइमा यो कार्यक्रम गरिएको हो ।
हात्ती पीडितका गुनासो सुनेपछि आन्तरिक मामिला तथा कानुनमन्त्रीले तत्काल आवश्यक सामाग्रीको व्यवस्थापनका लागि सहजिकरण गर्ने बताए । हात्ती पीडितका समस्या दीर्घकालीन रूपमा समाधानमा प्रदेश सरकारले काम गर्न लागेको उनले जानकारी दिए ।
हात्ती पीडितका दुःख, नजिकबाट सुन्न र समस्या समाधान गर्ने निकायसँग समन्वय गर्न कार्यक्रम आयोजना गरिएको सुनसरी क्षेत्र २ क का सभापति सुवेच्छुक देवानले जानकारी दिए ।
प्रदेश सरकार र स्थानीय सरकारबाट पीडितका दुःखलाई सम्बोधन गर्न उनीहरूका गुनासो सुनाउने समन्वयको काम गरेको सभापति देवानले बताए ।
हात्ती प्रभावित क्षेत्रका पीडितहरूलाई हात्तीको बारेमा सचेतना तथा जानकारी दिने काम भने मेची नगरपालिका वडा अध्यक्ष अर्जुन कार्कीले गरेका थिए ।
हात्तीका बारेमा जानकार रहेका वडा अध्यक्ष कार्कीले हात्तीबाट बच्ने उपायको बारेमा स्थानियबासीलाई जानकारी दिए ।
हात्तीले बीसौँ वर्षपछि सम्म पनि आफू हिँडेको बाटो हिँड्ने र आफूलाई जिस्काउने, चलाउनेलाई आक्रमण गर्न सक्ने भएकाले सचेत रहन उनले आग्रह गरे ।
उनले भने, ‘हामी हात्तीको ठाउँमा आएका हौँ, हात्ती हामी भएको ठाउँमा आएका होइनन्,त्यसैले हात्तीलाई जिस्काउने गर्नुहुँदैन । ’
पहिलो चरणमा पीडितका गुनासो सुनेको काँग्रेसले दोस्रो चरणमा सचेतनाका थप कार्यक्रम गर्ने सभापति शुबेक्छु देवानले बताए ।
हात्ती विज्ञहरू मार्फत हात्तीसँगको सहअस्तित्व कसरी निर्माण गर्ने भनेर गाउँलेहरूलाई सिकाउन सचेतनामूलक कार्यक्रम आयोजना गर्ने उनले बताए ।
स्थानीय सरकारसँग समन्वय गर्दै प्रभावित गाउँलेहरू मध्येबाटै केहीलाई झापाको बाहुन डाँगी लगेर तालिम दिने, हात्तीसँग कसरी सहज रूपमा जिउने भन्ने कला सिकाउन पठाउने, लगायतका कार्यक्रम गर्ने योजना रहेको सभापति देवानले सुनाए ।
इटहरी उपमहानगर तथा वडासँग समन्वय गरेर कार्यक्रम गर्ने उनले जानकारी दिए ।
गएको कात्तिक महिना देखी हात्तीले सो क्षेत्रमा निरन्तर दुःख दिँदै आएको छ । हात्तीको आक्रमणबाट इटहरी २मा एक जना स्थानीयको ज्यान पनि गएको थियो भने स्थानीयको घर भत्काइदिएको थियो ।
हात्ती दैनिक रूपमा गाउँमा पस्न थालेपछि इटहरीवासीहरू त्रसित हुँदै आएका छन् ।